धनगढी उपमहानगरपालिका र वनस्पति अनुसन्धान केन्द्र बीच बिबाद

कैलालीको धनगढी उपमहानगरपालिका कार्यालय र वनस्पति अनुसन्धान केन्द्र बीच जग्गाको स्वामित्व एवंम् भोगाधिकारको विषयलाई लिएर विवाद सुरु भएको छ । स्वामित्वमा धनगढी उपमहानगरपालिका – ७ मा वनस्पति अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको देवहरिया वनस्पति उद्यानमा उपमहानगरले आफूखुसी संरचना बनाउन थालेपछि दुवै कार्यालय बीचको विवाद सार्वजनिक भएको हो ।

देवहरिया वनस्पति उद्यान भित्र पर्ने जाखौर ताल क्षेत्रमा उपमहानगरपालिकाले डोजर नै चलाएर जबरजस्ती भौतिक संरचना बनाएको भन्दै वनस्पति अनुसन्धान केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई गुहारेको छ । उपमहानगरपालिका भने केन्द्र संगको समन्वयमै संरचना बनाएको दाबी गर्न थालेको छ ।

आफ्नो क्षेत्राधिकार भित्र पर्ने जाखौर ताल क्षेत्र अतिक्रमण गरी बनाइ रहेका संरचना रोक्न पटक–पटक लिखित र मौखिक रुपमा आग्रह गर्दा समेत उपमहानगरपालिकाले अटेरी गर्दै निर्माणको कामलाई जारी राखेकाले हटाउन जिल्ला प्रशासन कार्यालयको सहयोग मागिएको छ ।

केन्द्रका प्रमुख गंगादत्त भट्टले २९ साउनमा प्रशासनलाई लेखेको पत्रमा जाखौर तालमा वनस्पति अनुसन्धान केन्द्र सग कुनै जानकारी, सम्झौता र समझदारी बेगर धनगढी उपमहानगरपालिका द्वारा अनाधिकृत र श्रृंखलावद्ध रुपमा विभिन्न निर्माण कार्यहरु गरि रहेकोले उपमहानगरले गरेको अतिक्रमण हटाउन सहयोग गरिदिन भनिएको छ ।

केन्द्रले आफ्नो स्वामित्व र क्षेत्राधिकार रहेको तालमा कुनै किसिमका निर्माण कार्य नगर्न पटक पटक मौखिक र लिखित रुपमा गरिएका पत्राचारको वेवास्ता गर्दै एकतर्फी रुपमा निर्माण जारी राखेपछि व्यवस्थापनका समेत कठिनाइ भइरहेको पत्रमा उल्लेख छ । केन्द्रले सहयोग मागेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकालाई पत्र लेख्दै विवाद बारे जवाफ मागेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.