फुलेली भमरभोज खानेपानी योजनामा भइरहेको काम गुणस्तरहिन

कञ्चनपुरमा खानेपानी योजनामा उपभोक्ता समितिले गुणस्तहिन काम गरेको पाईएको छ । शुक्लाफँटा नगरपालिकामा उपभोक्ता समितिको लापरबाहीपूर्ण तरिकाले गुणस्तरहीन काम गरेको पाइएको हो ।

शुक्लाफँटा नगरपालिकामा वडा नम्बर ८ भमरभोजमा फुलेली भमरभोज खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गुणस्तरहीन काम गरेको पाइएको नागरिक सुशासन समाजका सुदुरपश्चिम प्रदेश अध्यक्ष बीर बहादुर बोहराले बताउनु भयो ।

स्थानीयको व्यापक जनगुनासो पछि केही दिन अघि आफुहरुले स्थलगत अवलोकन गरेको र त्यस क्रममा बालुवा लगायत सामग्री गुणस्तरहीन भएको सुशासन समाजका प्रदेश अध्यक्ष बोहराले जानकारी दिनु भयो ।

संघको करिब १२ करोड ८२ लाखको लागतमा निमार्ण भइरहेका ओभर हेड ट्यांकी, भवन, शौचालय, गार्ड हाउस, पर्खाल (कम्पाउण्ड वाल) लगायत संरचनाहरु निर्माण भइरहेका छन् । ओभर हेड ट्यांकी नेशनल कन्सट्रक्शन प्रालि महेन्द्रनगरले निर्माण गरि रहेको छ भने भवन, पर्खाल लगायत संरचनाहरु उपभोक्ता समिति मार्फत कार्य भइरहेको छ । उनका अनुसार निर्माण गरिएको भवन बाट बालुवा निस्कि रहेको छ भने, ओभरहेड ट्यांकी बाट पानी चुहिएको छ ।

नागरिक सुशासन समाजले विज्ञप्ति नै जारी गरेर निर्माण भएका सम्पुर्ण संरचनाहरु गुणस्तरहीन रहेकोमा सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउदै हदै सम्मको कारबाहीको माग समेत गरेको छ । उपभोक्ता समितिले गरेको कामको दीगोपना नै नरहेको स्थानीयको भनाई छ । यता फुलेली भमरभोज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ईश्वर प्रसाद पन्तले निर्माण गरिएका संरचनाहरुमा गुणस्तरहीन सामग्री प्रगोग नभएको बताएका छन् ।

’भवन निर्माण लगायतमा गुणस्तरहीन सामग्री प्रयोग भएका छैनन्, पुर्वाग्रही ढंगले कतिपयले भनि रहेका होलान्, यदी त्यस्तो देखिए हामी पुन निर्माण गर्छौ, उनले भने’ । आफुले बारम्बार निरीक्षण गर्नुपर्ने भएपनि समय अभावका कारण निरीक्षण गर्न नसकिदा कहीकतै आफ्नो पनि कमजोरी रहेकोमा भने पन्त आत्मग्लानी गर्छन् । कहिकतै कमी कमजोरी भए त्यसको जिम्मेवारी आफुले लिने उनले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.