कञ्चनपुरमा डेंगु र मलेरियाका बिरामी देखिन थाले

पछिल्लो समय कञ्चनपुरमा डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन् । जिल्लामा रहेको स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोको प्रकोप संँगै डेंगु र मलेरियाका बिरामी बढन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साता दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा ४ जनामा डेंगु देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार साउन यता ६ जनामा मलेरिया देखिएको छ  ।

महाकाली प्रादेशिक अस्पतालमा पनि मलेरिया र डेंगुका बिरामी देखिन थालेको अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. अर्जुन भट्टले बताए । गत साता सम्म ९ जनामा डंगु देखिएको अस्पतालले जनाएको छ  । वर्षातको सिजनमा फुलदानी, पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले फुल पार्ने र त्यसैबाट यसको वृद्धि भएर डेंगुको प्रकोप बढेको उनले बताए । यो लामखुट्टेले दिनमा टोक्ने भएकाले त्यसबाट जोगिनु पर्ने सतर्क र सचेत रहनु पर्नेमा चिकित्सकको जोड रहेको छ । आफनो घर वरपर पानी जम्न नदिने, धेरै मात्रामा लामखुट्टे देखिएमा कुहिरोजस्तो धूवाँयुक्त विषादी छर्किनु पर्ने उनले बताए  ।

उच्च ज्वरो, हाड जोर्नी दुख्ने टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण रहेको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. भट्टले बताए  । उनका अनुसार धेरैमा डेंगु देखिए केहीमा श्वास प्रश्वासको समस्या देखिन सक्ने उनले बताए  । कञ्चनपुरमा गत वर्ष १५ जनामा डेंगु देखिएको थियो । डेंगु र मलेरियाका बिरामी देखिन थाले पनि जिल्लामा परीक्षणका लागि कीटको अभाव रहेको औलो निरिक्षक भट्टले बताए  । उनका अनुसार प्रदेश आपूर्ति केन्द्रले सय कीट पठाएको थियो  । उक्त कीटहरू जिल्लाका सबै पालिकामा वितरण गरिएको उनले बताए ।

सम्बन्धित

Comments are closed.