कैलालीमा करिब चार सय घर डुबानमा परेका छन् । बिहिबार राति भएको वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले जिल्लाभर ३८० भन्दा बढी घर डुबानमा परेका छन् । सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ । काढा, पथरैया, मोहना नदीको बाढी घरमा पसेर सो पालिकामा ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोत व्यक्ति खिम पनाडीले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ । त्यस्तै, वडा नम्बर २ मा एक सय भन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ । घरहरूमा पानी पसेर खाद्यान्न, अन्न भिजेको जनाइएको छ । यसैगरी, कटैनी नदीको बाढी पसेर कैलारी गाउपालिका – ७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयँफाटा गरी ५० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष दीपेन्द्र बमले जानकारी दिए ।