पछिल्लो केही वर्ष यता महेन्द्रनगर बजारमा सवारी साधनको चाप बढेको छ । बजारका बाक्लो भीडभाड हुने चोकहरुमा जेब्रा क्रसिङ्ग छैन । जेब्रा क्रसिङ्ग नहुँदा पैदल यात्रीहरुलाई बाटो काट्न समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
महेन्द्रनगर बजारको मुख्य चोक मदन चोक सबैभन्दा बढी भीडभाड हुने चोक हो । त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने चम्मन चोक र भाषीको जनज्योती चोकमा बाक्लो भीडभाड हुने गर्दछ । बढी जसो विद्यार्थीहरुको ओहोर दोहोर हुने चोक र सडकहरुमा जेब्रा क्रसिङ्ग नहुँदा पैदल यात्रीहरुले जथाभावी बाटो काट्दा दुर्घटना हुने गरेकोे छ ।
राजमार्गहरु र बजारका मुख्य चोकहरुमा पर्याप्त मात्रामा सडक चिन्हहरुको व्यवस्थापन गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय महेन्द्रनगरको हो ।
तर सडक डिभिजन कार्यालयले अन्य सडक चिन्हहरु व्यवस्थापन गरेपनि जेब्रा क्रसिङ्ग भने बनाएको छैन । महेन्द्रनगर बजारका केही चोकहरुमा जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगर र सामुदायिक प्रहरी सेवा केन्द्रले दाताहरुको सहयोगमा जेब्रा क्रसिङ्ग बनाए पनि त्यो हराई सकेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी सरला न्यौपानेले राजमार्ग र बजारमा जेब्रा क्रसिङ्ग बनाउने जिम्मेवारी सडककै भएको बताए । उनले सडकमा अन्य सडक चिन्हहरुका लागि ठेक्का भैसकेकोले जेब्रा क्रसिङ्गका लागि पनि ट्राफिक प्रहरी संग छलफल गरेर काम अघि बढाउने बताए ।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा १८ सय भन्दा बढी अटो दर्ता भएका छन भने २८ हजार बढी मोटरसाइकल दर्ता छन । पछिल्लो एक दुई वर्ष यता मोटरसाइकलहरुको संख्या बढेको छ । साघुरो बाटो सवारीको चाप धेरै भएका कारण पनि बजार एरियामा दुर्घटना जोखिम कायमै छ ।
महेन्द्रनगरका गल्लीहरुमा अव्यवस्थीत तरीकाले गरिने पार्किङ्ग पछिल्लो समय ट्राफिक प्रहरीका लागि समेत चुनौतीको विषय बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले बजारमा व्यवस्थीत पार्किङ्गका लागि थुप्रै प्रयास गरेपनि नागरिक आफै सचेत नहुँदा समस्या भएको हो ।
Comments are closed.