प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जित्यो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि जितेको हो । कञ्चनपुरले दिएको ६३ रनको लक्ष्य बैतडीले ११ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । जसमा कप्तान वसन्त खत्रीले अविजित २४ रन बनाउँदा खडक बोहराले १४ रन बनाए ।

कञ्चनपुरका मिलन बोहराले २ विकेट लिए । त्यसअघि फाप्ला मैदानमा टस जित्दै पहिला ब्याटिङ गर्ने गरेको कञ्चनपुरले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ६२ रन जोड्यो । उसका कप्तान दिपेश चन्दले ३२ रन बनाउँदा राहुल चन्दले १५ रन जोडे । बैतडीका लागि गजेन्द्र बोहराले ४ र रामबहादुर चन्दले १ विकेट हात पारे । ६३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको बैतडीले ११.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सुदूरपश्चिम प्रदेशको टिम छनौट गरिने छ । नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भएपनि पुरुष क्रिकेट भने यहि भदौ २२ गतेदेखि काठमाडौं गर्ने निर्णय भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टि–२० लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयँ मिति तय गरेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.