दार्चुलामा ५ वर्षीया बालिकाको डेँगुबाट मृत्यु

महेन्द्रनगर । दार्चुलामा ५ वर्षीया बालिकाको डेँगु संक्रमणबाट मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको डेँगु संक्रमणबाट मृत्यु भएको हो ।
गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाका अनुसार बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखीएको थियो ।
जिल्ला अस्पतालमा चेकजाँच गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिनुका साथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको थियो । तर आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानकोे अस्पतालले जनाएको छ । आफन्तहरुले अन्य ठूलो अस्पताल लिने भनेर विरामी बालिकालाई अस्पताल नपुर्याएर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन् च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा उनको ज्यान गएको बताइएको छ ।
डेंगु संक्रमण भएमा शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त संचार प्रणालीमा प्रत्यक्ष असर परेर विरामीको मृत्यु हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मीले बिशेष स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्ने गर्दछ ।

सम्बन्धित

Comments are closed.