डडेल्धुरामा जटिल गर्भपतन गराउनेको संख्या बढ्दै

महेन्द्रनगर । डडेल्धुरामा जटिल गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । जिल्लामा प्रत्येक वर्ष जटिल गर्भपतन गराउनेको संख्या बढ्दै गएको तथ्यांक स्वास्थ्य कार्यालय डडेल्धुराले सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकले देखाएको छ । शुक्रबार जिल्ला सदरमुकाममा आइपास नेपाल र सामुदायिक विकास मञ्च सीडएफ नेपालले आयोजना गरेको ‘स्थानीय सञ्चारकर्ताहरूसँग यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा सो तथ्यांक प्रस्तुत भएको हो ।
स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर निरीक्षक भवानीसिंह कुँवरका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा जटिल गर्भपतन गराउनेको संख्या १८ जना थियो । तर, गत आर्थिक वर्ष २०७८÷०७९ मा त्यो संख्या बढेर २६ जना पुगेको उनले जानकारी दिए ।
डडेल्धुरामा गत आर्थिक वर्षमा १ हजार १ सय ५१ जनाले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराएका छन् । ७४ जनाले शल्यक्रिया मार्फत् सुरक्षित गर्भपतन गराएको परिवार नियोजन सुपरभाइजर निरीक्षक कुँवरले बताए । गत आवमा २० वर्षमुनिका १७ महिलाले गर्भपतन सेवा लिएका छन्। जिल्ला २२ सूचीकृत रहेको भएपनि २० स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतनको सेवा दिइरहेको कुँवरले जानकारी दिए । सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ ।
जबरजस्ती करणी, हाड नाता, विकलाङ्ग बच्चा जन्मिने सम्भावनालगायतका समस्या भए २८ हप्तासम्मको गर्भपतन निःशुल्क गराउन पाउने अधिकार छ। नेपालजस्तो पितृ सत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्ध कारण यहाँ गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको चिकित्सकहरूको तर्क छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.