महेन्द्रनगर । बैतडीमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । गएको साउन यता जिल्ला अस्पतालमा मात्रै एक सय २६ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पतालका हेल्थ असिष्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।
गएको बुधबार मात्रै जिल्ला अस्पतालमा १५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हेल्थ असिष्टेन्ट खडायतले जानकारी दिए । यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका बिरामी मध्ये साउन यता २६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
जिल्लाका अन्य ठाउँमा पनि स्क्रब टाइफसका बिरामी हुन सक्ने अनुमान गरिएको छ । परीक्षण नगराएका व्यक्तिहरुमा समेत स्क्रब टाइफसको संक्रमण हुन सक्ने हेल्थ असिष्टेन्ट खडायतले बताए ।
माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
स्क्रब टाइफसमा पनि टाइफाइड ज्वरो जस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा चेकजाँच गर्नुपर्नेमा जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य संस्थामा चेकजाँच गरेपछि मात्रै स्क्रब टाइफस भए नभएको बारेमा जानकारी हुने उनले बताए । अहिले जिल्लाभरी ज्वरोका बिरामी रहेकाले ती मध्ये कसैमा स्क्रब टाइफस समेत हुन सक्ने उनले बताए ।
शुक्लाफाँटा खबर
4965 posts
सम्बन्धित