वेदकोटमा उच्च माध्यमिक बिधालयका शिक्षकहरुले बुझाए ज्ञापनपत्र

महेन्द्रनगर । वेदकोट नगरपालिका भित्रका उच्च माध्यमिक बिधालयमा कार्यरत शिक्षकहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । आईतवार वेदकोट नगरपालिका उप–प्रमुख तुलसी जोशीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । नयाँ संविधान जारी भई झन्डै ७ वर्ष वित्न लाग्दा समेत संघीय शिक्षा ऐन आउन नसकेको र विश्वविद्यालयबाट प्रमाण–पत्र तह हटेपछी उच्च मा.वि. तह (कक्षा ११ र १२ ) अहिले माध्यमिक तहमा समायोजन भएको अवस्थामा सो तहमा तीसौ वर्ष देखि कार्यरत शिक्षकहरुको व्यवस्थापनको बारेमा शिक्षा ऐनको नवौ संशोधनमा समेत कुनै व्यवस्था नहुनु दुःखद भएको भन्दै आज ज्ञापनपत्र बुझाएको शिक्षक उमेश चटौतले बताउनु भयो ।
ज्ञापनपत्रमा ‘देशको शैक्षिक संरचनालाई अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनाउदै लैजाने र राज्यले अपेक्षा गरेको गुणस्तरयुक्त मध्यम जनशक्ति आपूर्ति गर्न उच्च माध्यमिक शिक्षा ऐन २०४६ बनेको थियो । त्यही २०४६ सालको उच्च माध्यमिक शिक्षा ऐन बमोजिम २०४९ सालमा जम्मा ३८ वटा विद्यालयलाई अस्थायी सम्बन्धन दिएर तत्कालीन समयमा करिव १ हजार ३ सय ४२ विद्यार्थीहरु भर्ना गरेर उच्च मावि तहको अध्ययन अध्यापन गर्ने गराउने कार्यको थालनी गरिएको हो तर आजका मिति सम्म आइपुग्दा पनि सरकारले कक्षा ११ र १२ पढाउने विद्यालयको संख्या मात्रै थप्ने कार्य गर्यो तर शिक्षक दरबन्दी र व्यवस्थापनको वाटोमा खासै ध्यान दिएन ।’ उल्लेख गरिउको छ ।
अहिले देशभर साविक सामुदायिक उच्च माध्यमिक विद्यालयहरुको संख्या ३ हजार ५ सय भन्दा बढी छ जसमा साढे ७ लाख विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । तर यतिका संख्याका विद्यार्थीका लागि १ जना पनि स्थायी शिक्षकको व्यवस्था राज्यका तर्फबाट अहिले सम्म पनि नगरिनु विडम्बनाको विषय बनेको भन्दै आईतवार ज्ञापनपत्र बुझाईएको हो ।
ज्ञापनपत्र बुझदै उपप्रमुख जोशीले उच्च माध्यमिक विद्यालयहरुमा देखिएको शिक्षकहरुको व्यवस्थापनको बारेमा शिक्षा ऐनको नवौ संशोधनमा समेत कुनै व्यवस्था नहुनु दुखद भएको बताउनु भयो आफुले यो विषयमा प्रदेश र संघिय सरकारसंग समस्याको समाधानको लागी पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.