दार्चुला बाढीः महाकाली नगरपालिकाले मृतक परिवारलाई एक लाख दिने

महेन्द्रनगर । दार्चुलाको महाकाली नगरपालिकाले बाढीपहिरो पीडितलाई नगरपालिकाको तर्फबाट राहत दिने घोषणा गरेको छ । नगरकार्यपालिकाको आकस्मिक बैठक बसी लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए ।
मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराइनेछ । महाकालीमा दुई जना मृतकको शव फेला परेको छ भने १० जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरु जीवित भेटिने सम्भावना नरहेको उद्धारमा खटिएकाहरु बताउछन् । बेपत्ताहरु नभेटिएमा प्रहरी प्रशासनको सिफारिसमा गृह मन्त्रालयले मृतक घोषणा गर्ने व्यवस्था छ । सरकारले बेपत्तालाई मृतक घोषणा गरेलगत्तै उनिहरुको परिवारलाई समेत राहत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
यस्तै पूर्ण रुपमा घर क्षति भएको परिवारलाई प्रति परिवार ५० हजार रुपैया र जोखिममा रहेका घरपरिवारलाई तत्काल १५ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख नरसिंह चैसीरले बताए । पूर्ण रुपमा क्षति भएको घट्ट पूनर्निमाणको प्रथम किस्ता ५० हजार दिने पनि नगरकार्यपालिकाले निर्णय गरेको छ ।
यसअघि प्रदेश सरकारको तर्फबाट मृतकको परिवारलाई एक लाख राहत उपलब्ध गराउने घोषणा गरिएको छ भने संघीय सरकारबाट समेत प्रति मृतकको परिवारलाई प्रशासन कार्यालयमार्फत दुई लाख राहत उपलब्ध गराउने कार्यविधि रहेको छ । एकै घरका एकभन्दा बढीको ज्यान गएमा प्रति मृतक थप एक लाखका दरले राहत उपलब्ध गराउने संघीय सरकारको कार्यविधि छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.