कञ्चनपुर भन्सार कार्यालयले अघिल्लो बर्षको तुलनामा ६ महिनामै भन्सार राजस्व बृद्धि गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७५÷०७६ को तुलनामा चालु आर्थिक बर्ष ०७६÷०७७ को पुष मसान्त सम्ममा ३२.७४ प्रतिशतले राजस्व बृद्धि गरेको हो ।
भन्सारले चालु आर्थिक बर्ष ०७६÷०७७ मा रु. ४८ करोड ६८ लाख ७५ हजार र पौष मसान्त सम्ममा रु. २५ करोड, १७ लाख, ३४ हजारको लक्ष्य राखिएकोमा रु. १८ करोड ५९ लाख ११ हजार रुपैया संकलन गरेको हो । अघिल्लो आर्थिक बर्षमा भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन् ।
अघिल्लो आर्थिक वर्षमा ४० करोड, १२ लाख, १ हजार भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३६ करोड, ६७ लाख ८ हजार मात्रै राजस्व संकलन गरेको थियो ।
भन्सारमा ८० लिलामका मुद्दा दर्ता भएपनि ३२ मात्रै फ्छ्र्यौट गरिएका छन् । चालु आर्थिक बर्षको ६ महिनामा लिलामबाट ८ लाख, ९३ हजार, ३९० रुपैया राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७५÷०७६ मा ६४ लाख, ६७ हजार,७७३ रुपैया राजस्व संकलन गरेको थियो ।
आइतबार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले ६८ औँ भन्सार दिवसका अवशरमा आयोजना गरेको कार्यक्रममा प्रमुख भन्सार अधिकृत भीम प्रशाद अधिकारीले राजस्व संकलन बृद्धि भईरहेको बताउनु भएको हो । कर्मचारीको सक्रियता, सबै सरकारी निकायको सहयोग र व्यवसायीको ईमान्दारिताका कारण भन्सार कार्यालयको राजश्व लक्ष्य वृद्धि हुन गईरहेको उहाको भनाई थियो ।
अधिकतम साईकल र मोटरसाईकलबाट बस्तु ढुवानी हुने गरेको बताउदै उहाले शारदा ब्यारेज महाकाली पुल दैनिक सात घण्टा मात्रै खुल्ने गरेको बताउनु भयो। उहाले महाकालीमा पुल निर्माणसंगै चारलेनको सडक सम्पन्न भएपछि आर्थिक कारोबारमा बृद्धि हुने समेत बताउनु भयो ।
कञ्चनपुर भन्सारबाट चित्रकला, हस्तकला, जडिबुटी, दोसल्ला, झोला, मफलर, रिट्टा र तेजपत्ता लगायतका थोरै नेपाली बस्तु निर्यात हुने गरेका छन् भने धेरै वस्तु आयात हुने गरेका छन् ।
हार्डवेयरका सामान, तरकारी, फलफुल, खाद्यान्न, लेडिज सुट, कपडा, तामा, काँसका भाडा, दरी, कम्बल लगायतका दैनिक उपभोग्य समाग्री आयात हुने गरेका छन् । भन्सार अघिकृत अधिकारीले भन्सार कार्यालयले थुप्रै सुधारका काम गरेको बताउनु भयो ।
उहाका अनुसार सेवाग्राहीको व्यवस्थापन, २४ सीसीभिटी क्यामेरा जडान, यात्रु र मालबहाक सवारी साधनको अलग अलग पार्किङ्ग स्थान निर्माणका साथै सचेतनामुलक सन्देश प्रसारित गरिएका छन् ।
भन्सार दिवसकै अवसरमा उत्कृष्ठ कर्मचारी, सेवाग्राही, भन्सार एजेन्टलाई सम्मान समेत गरिएको छ । भन्सार कार्यालयका नायव सुब्बा भुवनराज खडका, कार्यालय सहयोगी जंग बहादुर बोहरा, भन्सार एजेन्ट दान बहादुर विष्ट, मनोज कुमार मल्ल र सेवाग्राही रामविलास पासवान, दिनेश सिह र प्रेम बोहरालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कञ्चनपुरका सरोकारवालाले भन्सार राजस्व वृद्धिका लागि महाकालीमा पुल निर्माणसंगै चारलेनको सडक विस्तारमा जोड दिएका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले आर्थिक कारोबार वृद्धिका लागि निर्धारित समयमै महाकालीमा पुल निर्माण गरेर त्रिद्देशीय नाकाको रुपमा विकसित गराउनु पर्नेमा जोड दिनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विष्णू अवस्थीले भन्सार नीतिमा परिर्वतन ल्याउनुपर्नेमा जोडदिदै नेपालमै पाईने बस्तु तथा सेवा आयातमा कडाई गर्नुपर्नेमा जोड दिनु भयो ।
माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्सार राजस्वमा सुधारका लागि सबै क्षेत्रको सकारात्मक भूमिका हुनुपर्ने बताउनु भयो ।
नायब सुब्बा करन सिह बोहराले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, व्यवसायी, उद्योगी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।