डडेल्धुराका ५ पालिकामा २८ जनामा डेंगु पुष्टि
महेन्द्रनगर । लामखुट्टेको टोकाईबाट सर्ने डेंगु पछिल्लो समय पहाडी जिल्लामा पनि देखा पर्न थालिएको छ । तराँईमा बढी देखिने डेंगु पहाडी जिल्लामा पनि बढदै गएको पाईएको हो ।
यस्तै, डडेल्धुराका ५ स्थानीय तहमा डेंगु फैलिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगुका बिरामी फेला परेका हुन् । जिल्लाको पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा भने डेंगीको संक्रमण छैन् ।
अहिलेसम्म डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेंगु देखिएको छ । २८ जनामध्ये १६ जना डडेल्धुराका छन् भने बाँकी ९ जना बैतडी र ३ जना डोटीका रहेको डडेल्धुरा अस्पतालका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिएका छन् । उनका अनुसार डडेल्धुरामा सबैभन्दा बढी अमरगढी नगरपालिकामा ९ जनामा डेंगु देखिएको छ ।
भागेश्वर गाउँपालिकामा ३, गन्यापधुरा र नवदुर्गामा २÷२ तथा अजयमेरु गाउँपालिकामा एक जनामा डेंगु देखिएको भट्टले बताए । डेंगु संक्रमण ५ वटा पालिकामा फैलिएपछि नियन्त्रणका लागि बासस्थान पत्ता लगाएर लार्भा मार्ने अभियान सञ्चालनबारे छलफल भइरहेको उनले बताए ।