महेन्द्रनगर । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीमा सत्याग्रहको पाँचौ दिनसम्म अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । भोकभोकै अनसन लम्बिदैं जाँदा उनको स्वास्थ्यमा समस्या देखिन थालेको हो ।
सोमबारदेखि अनसन थालेको उनको शुक्रबार पाँच दिन पुगेको छ । पाँच दिनदेखि उनले पानी बाहेक मुखबाट केही नखाएकाले स्वास्थ्यमा समस्या देखिन थालेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरले बताए ।
उनका अनुसार लगातार पाँचदिनदेखि भोकै रहेका केसीको कमजोरीपन बढ्दै गएको छ । रगतको जाँच गर्दा कडा खाले सुगरको मात्रा कम देखिएको छ ।
यसैगरी, मांसपेशी दुख्ने, थकाई, रिंगटा लाग्ने जस्ता समस्या देखिएका छन् । यद्यपि, जीवनको सूचक मानिने रक्तचाप, मुटुको धड्कन, फोक्सोमा खासै समस्या नरहेको डा। कमरले बताए । ‘अहिले उहाँको अवस्था धेरै जटिल छैन’, डा. कमरले भने,‘तर, पाँचदिनदेखि भोकै बसेकाले इनर्जी एकदम घट्दै गएको छ ।’
विभिन्न सात बुँदै माग राख्दै सत्याग्रही केसीले सोमबारदेखि धनगढी उपमहानगरपालिका–१ एलएन चौकस्थित कृष्ण मन्दिरको धर्मशालामा आफ्नो २० औं सत्याग्रह थालेका थिए । तर, तेस्रो दिनबाट स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको छ ।

शुक्लाफाँटा खबर
5621 posts
Comments are closed.