महेन्द्रनगर । शुक्रबारदेखिको अविरल वर्षापछि आएको बाढीले डडेल्धुराको भित्रिमधेष क्षेत्रमा ठुलो क्षति भएको छ । रङ्गुन र पन्तुरा नदीमा आएको बाढीले तटबन्ध बगाउँदा वडा नं ६ को ठन्नजाला र सिमलखेत गाउँ पसेको छ । बाढी गाउँ पस्दा धानखेतीमा ठुलो क्षति भएको वडा नं ६ का अध्यक्ष तथा परशुराम नगरपालिकाका प्रवक्ता खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।
५–६ वटा घर तथा केही पशुचौपाया बगाएको र मानवीय क्षती नभएको उनले बताए। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गंंगादत्त बडूले जानकारी दिए ।
यस्तै पन्तुरा खोलामा आएको बाढीले दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापानीमा पक्की सडक भासिएको छ । तटीय क्षेत्रमा लगाइएको धानबालीमा क्षति पुगेको छ । उता वडा नं १० मा गैरिगाउँ खोलामा आएको बाढीले जमिन कटान गर्नुका साथै केही घर जोखिममा परेका छन् ।
यस्तै बुडर–जोगबुडा सडकखण्ड अन्तरगत केही समयअघि मात्रै उद्घाटन भएको आलिताल गाउँपालिका स्थित सुनखोला पुल पनि जोखिममा परेको छ । यता, परशुराम नगरपालिकाका प्रमुख भरत जोशीले जोखिमपूर्ण अवस्थामा मानविय क्षति तथा अन्य ठूलो भौतिक क्षति हुन नदिन तत्काल सबैलाई सुरक्षित स्थानमा रहन र अन्य जोखिमपूर्ण कार्यहरू नगर्न हुन अनुरोध गरेका छन् ।

शुक्लाफाँटा खबर
5678 posts
Comments are closed.