महेन्द्रनगर । बैतडीमा भारतबाट स्वदेश फर्किनेहरुको स्वास्थ्य परिक्षण थालिएको छ । बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको स्वास्थ्य परीक्षण गर्न थालिएको हो । पछिल्लो समय दसैँ नजिकिएसँगै भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या पनि बढ्दै गएको छ ।
अहिले सीमा नाकाबाट दैनिक ५० देखि ६० जनासम्म स्वदेश फर्किरहेका सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । रोजगारीका लागि भारत पसेका नेपाली अहिले दसैँ मनाउन घर फर्किरहेका हुन् । झुलाघाट नाकाबाट दसैँ मान्न घर फर्कने सबैको सीमानाकामा रहेको हेल्थडेस्कमा कोरोना, डेंगु, मलेरिया र एचआइभी समेत परीक्षण भइरहेको बताइएको छ ।
घरपरिवार पाल्नका लागि भारतको विभिन्न सहरमा काम गर्ने नेपालीहरु अहिले दशैं मनाउन घर फर्किरहेका छन् । भारतको पिथउरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राजस्थान, हरिद्वार लगायतका विभिन्न सहरमा यहाँ नागरिकहरु कामका लागि जाने गरेका छन् ।
काम विशेषले जहाँसुकै पुगेका भएपनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिएर दशैं पर्व मनाउन घर फर्किरहेका हुन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक दैनिक रुपमा स्वदेश फर्किरहेका छन् ।
झुलाघाट नाकाबाट दशैंका लागि घर फर्कने सबै नागरिकको सीमामै स्वास्थ्य परीक्षण पनि भइरहेको झुलाघाट हेल्थडेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सुरज धामीले बताए ।