महेन्द्रनगर । यस वर्षको दसैंमा देशका विभिन्न चारवटा प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ । हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावनादेखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १९ गते विजया दशमीदेखि २१ गते द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दसैंका लागि विशेष मनसुन बुलेटिन प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । शाखाका अनुसार नेपालमा मनसुन सरदर अक्टोबर २ मा बाहिरिने भएतापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ ।
मंगलबार
आउँदो मंगलबार नवमीमा देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधबार
बुधबार विजया दशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बिहीबार
एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार
द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । यी दिनहरूमा देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Comments are closed.