कञ्चनपुर र कैलाली जोड्ने झोलुङ्गे पुल जोखिममा

महेन्द्रनगर । बिहिवारदेखी परेको अविरल वर्षाले कञ्चनपुर र कैलाली जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।
बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको मजगाइका स्थानीय रामु कुश्मीले जानकारी दिएका छन् । निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै बन्द हुने चिन्ता व्यक्त गरे ।
२०६७ मा निर्माण भएको पुलमा दैनिक २ हजार बढीले आवतजावत गर्छन् । तर पुलको कटान रोकथामका लागि स्थानीय तह तथा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पुलको अवस्था बुझेर तत्काल कटान रोकथामको प्रक्रिया थाल्ने बताए । कञ्चनपुर प्रशासनसँग पनि समन्वय गरेर प्रक्रिया अगाडि बढाउने प्रजिअ थापाको भनाइ छ ।

सम्बन्धित

Comments are closed.