कञ्चनपुरमा समयमा पुल निर्माण नगरेपछि ७० लाख हरजाना

महेन्द्रनगर । कञ्चनपुरमा विगत ७ वर्षदेखी बिभिन्न क्षेत्रमा सम्झौता गरिएका करोडौँका पुल निर्माणका योजनाहरु अलपत्र परेका छन् । जिल्लामा रहेका बंक–नायल–बुडर सडकखण्ड अन्तरगत ओदाल खोलामा रहेको पुल, ७ वर्ष बितिसक्दा पनि निर्माण व्यावसायीको लापवाहीले गर्दा पुलको काम अलपत्र परेको हो ।
सम्झौता सकिएको ७ वर्ष बितिसक्दा समेत पुलहरु निर्माण हुन सकेको छैन् । पुल निर्माणको जिम्मा पाएका कतिपय निर्माण कम्पनीले कारवाही स्वरुप हरजाना समेत तिरेको पाईएको छ । बंक–नायल–बुडर सडकखण्ड अन्तरगत ओदाल खोलामा रहेको पुल ७ करोडमा ठेक्का सम्झौता भएको र उक्त पुल समयमा सम्पन्न गर्न नसक्दा सडक डिभिजन कार्यालयले हरजाना स्वरुप ७० लाख रुपैँया निर्माण कम्पनी थेगिम गाल्वा कन्स्ट्रक्सनसँग असुल गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरका सुचना अधिकारी पियुष चटौतले जानकारी दिएका छन् ।
२०७३ भदौ १७ मा ठेक्का सम्झौता भएको पुल निर्माणको काम २०७४ चैत १५ मा सक्नुपर्ने समयावधि भएपनि सम्झौता सकिएको ७ वर्ष बित्दासमेत अहिले पुलको ७० प्रतिशत मात्रै निर्माण कार्य सकिएको उनले बताए । अहिले पुलमा लाग्ने ३ स्पान मध्ये १ स्पान हाल्न बाँकी रहेको र उक्त पुलको निर्माण सम्पन्न मिती २०८० असारमा रहेको उनले दाबी गरे । नदीमा सहज आवतजावत हुने अपेक्षा गरेका स्थानीय पुल समयमा सम्पन्न नहुँदा आक्रोशित बनेका छन् । निर्माणको जिम्मा पाएको थेगिम गाल्वा कन्स्ट्रक्सनले समयमै काम नगर्दा निर्माण कार्य अलपत्र परेको उनीहरुले बताएका छन् । स्थानीय शुनिल भण्डारीले पुल निर्माणमा चरम लापरबाही भएको बताए । खोलामा पुल नहुँदा बर्षातको समयमा आवतजावत गर्न समस्या भोग्दै आएको उनले बताए ।
पुल नहुँदा बर्खायाममा कृष्णपुर नगरपालिकाको–१ दोमिल्लाका स्थानीय वर्षौदेखि समस्या भोग्दै आएका छन् । हिउँदमा गाडी जाने बाटो भएपनि वर्षायाममा भने पक्की पुल नहुँदा जोखिम मोलेर खोलाको बाटो हुँदै यात्रा गर्नुपरेको स्थानीय भण्डारीले बताए । ‘पुल नहुँदा स्थानीयवासीलाई आवतजावत गर्न, स्थानीय उत्पादन ओसारपसार गर्न, विद्यालय र स्वास्थचौकी जान समेत अप्ठ्यारो पर्ने गरेको छ,’ उनले भने, ‘पुल निर्माणको लागि पटक–पटक पहल गर्दा समेत कुनै सुनुवाई भएन ।’ बर्सातमा सबैभन्दा समस्या विद्यार्थीहरुलाई हुने शुनिल भण्डारीले बताए ।
अर्का स्थानीय ढुन्डीराज भण्डारीले खोलामा निर्माण भइरहेका दुवै पुल अलपत्र रहेको बताए । उनले आफूहरुले पटक–पटक खबरदारी गर्दा पनि निर्माण कार्यले गति लिन नसकेको बताएका छन्। जनप्रतिनिधिले समेत चाँसो नदिँदा निर्माण कार्य अलपत्र परेको स्थानीहरुको आरोप छ ।

 

सम्बन्धित

Comments are closed.