सोमवार कुकुर तिहार

महेन्द्रनगर । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन सोमवार घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.