कञ्चनपुरमा छुटा्छुटै घटनामा परी ४ जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुरमा शनिवार भएको छुट्छुटै घटनामा परी ४ जनाको मृत्यु भएको छ । दोधारा चाँदनी ७, कृष्णपुर नगरपालिका–५ बेलौरी नगरपालिका–३ र शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा २ महिला र २ पुरुषको मृत्यु भएको हो इशान मेमोरियल अस्पतालका एचआर प्रमुख मिनबहादुर कुँवरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।

शुक्रबार दिउँसो बेलौरी नगरपालिका–३ बुटाबारीमा घाँस बोकेर हिँडिरहेकी महिलासँग मोटरसाइकल ठोक्किदा ४२ वर्षीय कुँवर घाइते भएका थिए। उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।कुवरले चलाएको से ७ प ४१५९ नम्बरको मोटरसाइकलले स्थानीय जानकीदेवी बोहरालाई ठक्कर दिएको थियो। महिलालाई सामान्य चोटपटक लागेको छ।

दोधारा चाँदनी नगरपालिका वार्ड न. ७ निवासी अन्दाजी ६५ वर्षीय अमृता ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ । कञ्जभोज स्थित झोलुंगे पुलमा शानिवार बिहान ५ बजे तिर हिन्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ । बिहानै स्थानीयवासीले झोलुंगे पुलमा लडेको अवस्थामा शव फेला परेको थियो । मृतक ठकुरीको शव परीक्षण गर्न दोधारा प्राथमिक स्वास्थ्य चौकीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ ।

मृतकको मानसिक स्थिति सन्तुलित नरहेको स्थानीय बताउछन् । दोधारा चाँदनी नगरपालिका वार्ड नं. ७, कन्चभोज स्थित झोलुंगे पुल जिर्ण भएकले ठकुरीको मृत्यु भएको स्थानीयको आरोप छ । यस्तै, कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीको एउटा घरमा आगलागी हुँदा ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको छ । शुक्रवार राति घरको कोठामा एक्लै भएको बेला आगलागी हुँदा ती वृद्धाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । ‘छिमेकीको मृत्यु भएकाले श्रीमान शव कुर्न गएकाले ती वृद्धा घरमा एक्लै भएको खुलेको छ,’ उनले भने, ‘बिँडी खाने भएकाले त्यसैको ठुटोबाट आगलागी भएको आशंका गरिएको छ ।

’ उता, शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर पेट्रोल पम्प नजिक ट्रयाक्टरको ठक्करबाट शनिवार विहान एक जनाको मृत्यु भएको छ । कलुवापुरदेखी झलारीतर्फ आइरहेको से १ त २४७९ नम्बरको ट्याक्टरले ठक्कर दिदा साइकल यात्री भारतको उत्तरप्रदेशको लखिमपुर खिरी जिल्ला खजुरीया बजार बस्ने वर्ष ५७ का राम प्रतापको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । शव पोष्टमार्टमका लागि महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । उनी स्थानिय क्षेत्रमा कवाड संकलनको काम गर्दै आएकोे प्रहरी निरीक्षक सिंहले बताए ।

सम्बन्धित

Comments are closed.