भारत जानबाट रोक्ने उम्मेदवार हामीले पाएनौ

महेन्द्रनगर । आईतवार देशैभर सम्पन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भएसँगै सुदूरपश्चिमका सिमानाकामा यतीखेर भारत जाने युवाहरुको लर्काे बढेको देख्न सकिन्छ । निर्वाचन हुनुपूर्व नेता कार्यर्ताहरुले दिने गरेको बिभिन्न आश्वासन मध्येमा देशमा स्वरोजगारको वातावरण बनाउने पनि रहेको हुन्छ ।

तर निर्वाचित भएपछि एकैचोटी ५ वर्ष पछि फेरी मत माग्न आउने र आफुले गरेको बाचा, दिएका आश्वासन तथा स्वरोजगारको कुरा पनि कार्यान्वयन नभएपछिको परिणाम यतीखेर युवाहरु सबै भारत तथा विदेश पलायन हुने परिपाटी बढदै गएको पाईएको छ । सदस्यलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति सकिएसँगै सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ ।

पश्चिमी नाकाबाट अहिले दैनिक सयौँ नेपाली रोजगारीको खोजीमा भारत गइरहेका छन् । त्रिनगर, गड्डाचौकीलगायत नाकामा भारत जानेको भीड देखिन्छ । किशोर उमेरका देखि वृद्धावस्थामा प्रवेश गरेकाहरु रोजगारीका लागि भारत छिर्दै गरेको दृश्यहरु सीमा नाकाहरुमा देख्न पाइन्छ । भीमदत्त नगरपालिका १८ सालघारी का वर्ष १८ का किसन दमाई कामको खोजीमा भारत जाने तयारी मा छन् ।

आफनो परिवारमा रहेका वृद्ध बुवाआमा र भाईबहिनीहरुको आवस्यक्ता पुरा गर्न विगत २ वर्षदेखी भारतको गुजरातमा उनी एक कम्पनीमा मजदुरको रुपमा काम गरिरहेको बताए । आईतवार सम्पन्न भएको निर्वाचनमा उनले पहिलो पटक मत खसालेका छन् । मत माग्न आउँदा नेताहरुलाई आफुुले पनि आफनै देशमा मजदुरी गरेर खान पाए आफनै परिवारसँगै बस्न पाए हुने थियो भनेर आग्रह गरेको भएपनि आफनो आग्रह पुरा नहुनेमा ढुक्क भएको उनले बताए । उनीसँगै सालघारीमा बस्ने अन्य उनका दाजु नाता पर्नेहरु पनि विगतदेखी भारतमा रोजगारी गर्दै आएका छन् ।

ती मध्येका एक हुन गोपाल वादी ‘विगतका निर्वाचनमा पनि भोट हाल्यौ, आफना समस्या भन्यौ ,तर कसैले पनि सुनुवाई गरेनन् अब पनि केही हुनेवाला छैन् हामीले जिवनभर भारतमै गएर रोजगार गर्नुपर्ने भाग्यमा लेखेर आयौ तर नेताहरुले देशमा हामी जस्ता युवालाई राख्ने वातावरण बनाएनन’ उनले भने, ‘आईतवार पनि मत हाल्यो धेरै नेता कार्यकर्ता आए आश्वासन दिएर गए विजेता पनि भएका छन् तर हामीलाई भारत जानबाट रोक्ने अहिले सम्म नेता पाएनन्’ । सपरिवार भारत जान लागेका वादीले अब फेरी चुनावमा मत नखास्ले बताए हजारौ रुपैँया खर्च गरेर मत हाल्न आउँछौ, आफनो समस्या समाधान होलाभन्ने आशमा आउँछौ तर आशा निराशामा परिणत हुन्छ उनले भने, ।

रोजगारीको खोजीमा भारत जाने युवासँगै ससाना बालबालिका काखीमा च्यापेर कतिपय महिलाहरु पनि भारत गइरहेका छन् । कतिपय काम गर्न र कतिपय श्रीमानलाई सघाउन सँगै जाने गरेका हुन् । रोजगारीको लागि भारत गइरहेका दृश्य अहिले मात्र होइन, चुनावका बेला पनि उस्तै थियो । अहिले हिउँदे खेती लगाएर र चुनावमा मतदान गरेपछि रोजगारीको लागि दैनिक सयौँ भारत गइरहेका हुन् । यसले सुदूरपश्चिममा बेरोजगारीको अवस्थालाई दर्शाउँछ । गरिबीको रेखामुनि रहेको सुदूरपश्चिममा बेरोजगारी दर उच्च छ ।

यहाँ सामान्य मजदुरी कामसमेत नपाएर सयौँ नेपाली कामको खोजीमा भारत जान बाध्य छन् । भारत जानेमध्ये धेरैले तल्लो स्तरको र जोखिमपूर्ण काम गर्न बाध्य छन् । आउँदा र जाँदा सीमा नाकामा अपहेलित हुनुपर्ने, लुटिनुपर्ने बाध्यता उस्तै छ । सुदूरपश्चिममा चरम गरिबीसँगै बेरोजगारी दर उच्च छ । रोजगारीका अवसर नुहँदा युवा जनशक्ति पलायन हुनु परेको छ ।

सम्बन्धित

Comments are closed.