महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुल्ने कञ्चनपुरका २ जना अछामका २ गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेको पाइएको छ ।
आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटल, रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । नीहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।
उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ । स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ ।
त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Comments are closed.