महेन्द्रनगर । गत शनिबार दिउँसो मृत अवस्थामा फेला परेका बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्टको शव अझै आफन्तहरुले बुझेका छैनन् । शिक्षक बिष्टको शंकास्पद मृत्यु भएको भन्दै आफन्तहरुले घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेका छन् । भने विधार्थीहरुले आन्दोलन गरेका छन् ।
शिक्षक बिष्ट कार्यरत कृष्ण माध्यमिक विद्यालय र पाटन बहुमुखी क्याम्पसका विद्यार्थीहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले शिक्षक बिष्टको हत्या गरिएको भन्दै सत्यसत्थ्य छानविनको माग गरेका छन् । शिक्षक बिष्टको मृत्यु नभइ हत्या भएको परिवारजनले आशंका गरेका छन् । मृतक बिष्टको शरीरभरी निलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त लिला बिष्टले बताइन् ।
उनले भनिन् ‘हामीले घटनाको सत्यतथ्य छानबीनको माग गरेका छौं । दोषी पत्ता लगाउनुपर्ने हाम्रो माग रहेको छ । ’मृतक शिक्षक बिष्टको दाँत टुटेको र मुखमा समेत घाउ रहेकाले उनको हत्या गरेर शव फालेको आशंका रहेको मृतकका भतिजा लोकेन्द्र बिष्टले बताए । ३० बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेको ठाउँमा शिक्षकको मृत्यु हुँदा समेत कसैले चासो नलिएको बिष्टको गुनासो रहेको छ ।
उनले भने ‘हामी घटनाको सत्यतथ्य छानबीनको माग गर्छौं । हाम्रो मान्छेको हत्या गरेर शव फालिएको हो । यसमा सुक्ष्म अनुसन्धान अगाडि बढाउन समेत हामीले प्रहरीलाई आग्रह गरेका छौं ।’ कृष्ण माविकै छात्रवास भवन पछाडि भिरालो ठाउँमा उनको शव फेला परेको थियो । शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तहरुले शव बुझ्न मानेका छैनन् । घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । अन्य ठाउँमा चोट भएको नभएको बारे रिपोर्ट पश्चात थाहा हुने जानकारी दिए ।
Comments are closed.