बैतडी शिक्षक मृत्युः दशरथचन्द राजमार्ग अवरुद्ध, विधालय बन्द

महेन्द्रनगर । बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टका बिषयमा निष्पक्ष छानबीनको माग गर्दै मंगलवार पनि बैतडीका विभिन्न ठाउँमा स्थानीयबासी र विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । भने, बैतडीको पाटन नगरपालिका भित्रका विद्यालय मंगलबार बन्द रहने भएका छन् । शिक्षक बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले मंगलबार विद्यालय बन्द रहने घोषणा गरेका हुन् ।

शिक्षक बिष्ट मृत फेला परेको तीनदिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो । शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबीन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएका छन् । शिक्षक बिष्टको मृत्यु नभइ हत्या गरिएको भन्दै परिवारजनले आशंका गरेपछि सोमबारदेखि आन्दोलनका कार्यक्रम शुरु भएका छन् । बैतडीको खोड्पेमा स्थानीयहरुले एकघण्टा बजार बन्द गरेर शिक्षक बिष्टको न्यायका लागि प्रर्दशन गरेका छन् । राजमार्ग अवरुद्ध गरेर उनीहरुले दोषीको खोजी गरी कारवाही हुनुपर्ने माग गरेका छन् ।

यस्तै जिल्लाको सतबाँझ, सिउडे, ठाँड, पाटन लगायतका क्षेत्रमा स्थानीय र विद्यार्थीहरुले सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका छन् । शिक्षक बिष्टको हत्या भएको भन्दै दोषीको पहिचान गरी कारवाही हुनुपर्ने माग राखिएको छ । बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा टायर बालेर प्रर्दशन भएपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गएको शनिबार कृष्ण माविको छात्रबास पछाडि भिरालो ठाउँमा शिक्षक बिष्टको शव फेला परेको थियो । शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तहरुले अझै शव बुझेका छैनन् ।

मृतकका परिवारले भवितव्य मृत्यु नभइ हत्या भएको भन्दै दोषीको पहिचान नहुँदा सम्म शव नबुझ्ने अडान लिएका छन् । मृत्यु हुनु एकदिन अगाडि शिक्षक बिष्ट कृष्ण माविकै शिक्षक र अन्यहरुसंग पार्टीमा सहभागी भएका बताइएको छ । यता प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनाका बिषयमा सुक्ष्म हिसाबले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

सम्बन्धित

Comments are closed.