महेन्द्रनगर । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ खुवाउने मिति सारिएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ पुस ११ गते गर्ने भनिएपनी केही ढिलाईले पुस १४ गते शपथ खुवाउने तयारी थालिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
उनले केही नवनिर्वाचित साँसद काठमाण्डौँ गएकाले आउनजान केही ढिलाई हुने र केही तयारी गर्नुपर्ने भएकाले पुस १४ गतेलाई सारिएको उनले जानकारी दिए। अछाम क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाइने प्रदेशसभा सचिवालयका सचिव बोगटीले बताए।
निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची प्रदेश प्रमुख समक्ष बुझाएको २० दिनभित्र निर्वाचित सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने प्रावधान छ। २ पुसमा आयोगले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यको सूची प्रदेश प्रमुखलाई बुझाएको हो । आयोगले बुझाएको सूची प्राप्त भएको २० दिनभित्र प्रदेशसभा सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गरिसक्नु पर्ने प्रावधान रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए ।
संविधानको धारा १७९ बमोजिम प्रदेशसभामा निर्वाचित हुने सदस्यले प्रदेश प्रमुख समक्ष सपथ लग्नु पर्ने प्रावधान रहेको छ । प्रदेश प्रमुख समक्ष सपथ लग्दा प्रदेश प्रमुखले सबैभन्दा जेष्ठ सदस्यलाई सपथ खुवाउने र ती जेष्ठ सदस्यले बाँकी प्रदेशसभा सदस्यलाई सपथ खुवाउनु पर्ने प्रावधान छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ढुंगानाका अनुसार जेष्ठ सदस्यको पहिचान प्रदेशसभा सचिवालयले गर्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यमध्ये जेष्ठ सदस्यको पहिचान भइसकेकाले पुस १४ भित्रै सपथका लागि तयारी थालिएको बताए ।
Comments are closed.