महेन्द्रनगर । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । १ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
प्रहरीले नक्कली मुद्राको कारोबार भइरहेको सूचनाको आधारमा चुरे गाउँपालिका ६ का लाल बहादुर साउँदलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुरस्थित एस एस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका ६ का लिलाधर मिश्र, डोटी शिखर नगरपालिका १० का करण सिंह धामी र डोटी कै बडिकेदार गाउँपालिका १ का मोहन सिंह बोहरालाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
उनीहरुको बयानको आधारमा डोटी शिखर नगरपालिका १० का टेकेन्द्र धामीलाई समेत फेलापारि पक्राउ गरेको उनले बताए । धामी बस्ने कोठामा प्रहरीले एक लाख ३८ हजार नक्कली रुपैयाँ फेला पारेको छ । यस्तै, बाघको हड्डी ५ किलो ५३० ग्राम, जडिबुटी, बैङ्क तथा आई एम ई भौचर तथा चेकहरू बरामद गरेको हो । प्रहरीले नक्कली नोट र बाघको हड्डी तथा जडीबुटी तस्करीमा संलग्न सबैमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
Comments are closed.