महेन्द्रनगर । बैतडीमा रहेको जिल्ला अस्पताल देशभरिमै उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल भएको छ । ‘प्राइमरी लेभल हस्पिटल’ मध्ये जिल्ला अस्पताल बैतडी देशभरिमै दोस्रो स्थानमा परेको छ । न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल देशभरिका उत्कृष्ट अस्पतालको दोस्रो स्थानमा पर्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताए ।
स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटले गरेको मूल्याङ्कनका आधारमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोस्रो स्थानमा पर्न सफल भएको डाक्टर श्रेष्ठले बताए । उनले भने,‘न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन हुँदा बैतडी अस्पताल ८९ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा परेको छ । दमौली अस्पताल पहिलो स्थानमा रहेको छ । जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अङ्कसहित तेस्रो र बझाङ ८४ प्रतिशत अङ्कसहित चौथो स्थानमा परेको छ ।’ यसअघि सुदूरपश्चिममा बैतडी अस्पताल प्रथम स्थानमा रहेको थियो ।
स्वास्थ्य सूचकका आधारमा अस्पतालहरूलाई अङ्क दिइने गरिएको छ । अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका सुविधा, भौतिक व्यवस्थापनलगायतका कार्य हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको छ ।
Comments are closed.