कैलालीको धनगढीमा २२ लाख ८२ हजार नगद सहित पक्राउ परेका १६ जना जुवाडेलाई जिल्ला प्रशासन कार्यालय कैलालीले धरौटीमा छोडेको छ ।
माघ दोश्रो साता धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका १६ जना जुवाडेलाई ९ लाख ३० हजार धरौटीमा छोडिएको हो ।
पहिलो पटक पक्राउ परेका जुवाडेलाई प्रतिव्यक्ति ३० हजार धरौटीमा तथा दुई वा सो भन्दा बढि पटक पक्राउ परेका जुवाडेलाई एक लाख २० हजार धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा ईश्वरदत्त जोशीले बताउनु भयो ।
उहाले गोदावरी नगरपालिका वडा नम्वर १० का २८ बर्षीय रबिन्द्र शाही सहितका ५ जना पटक–पटक पक्राउ परेका कारण उनीहरुलाई प्रतिव्यक्ति एक लाख २० हजारका दरले ६ लाख धरौटी बुझाएपछि छोडिएको बताउनु भयो ।
बाँकी ११ जना पहिलो पटक पक्राउ परेका कारण उनीहरुलाई भने ३० हजारका दरले तीन लाख ३० हजार धरौटीमा रिहा गरिएको हो ।
रबिन्द्र शाहीसहित कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने ३४ बर्षीय भुवन कुवँर, धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय तिलक अधिकारी, वडा नम्वर १३ बस्ने बर्ष ३४ का रमेश खड्का, वडा नम्वर ४ बस्ने बर्ष ३५ का खेमराज भट्ट, वडा नम्वर २ बस्ने बर्ष ४१ का जनक दौल्याल, गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देश तामाङ, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्का पक्राउ परेका थिए ।
यस्तै बैतडी दशरथचन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष ५० का कालुसिंह धामी, धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष ३७ का चन्द्रमणि अधिकारी, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्नालाई प्रहरीले पक्राउ गरेको थियो ।