महेन्द्रनगर । दार्चुलामा नेपाल–भारत सीमा महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकपक्षीय रुपमा तटबन्ध निर्माणको काम रोक्न भन्दै स्थानीयले जिल्ला प्रशासन मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । बारम्बार भारतीय पक्षसँग स्थानीय प्रशासनले छलफल गर्दा पनि नेपाली पक्षको माग सम्बोधन नभएको भन्दै उनीहरुले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
भारतले एकपक्षीय रुपमा तटबन्ध निर्माणको काम अगाडि बढाउँदा दार्चुला सीमामा दैनिक जसो तनाव भइरहेको छ । महाकाली नदी नेपाली भूभागतिर धकेल्ने गरेर भारतीय पक्षले संरचना निर्माण जारी राखेपछि स्थानीय विरोधमा रहेका छन् । भारतले बलमिच्याँईं गरेर महाकालीमा संरचना निर्माण गर्न थालेपछि दार्चुलाका स्थानीय विरोध स्वरुप ढुंगामुढामा गर्न बाध्य छन् । बुधबार (हिजो) भारतीय पक्षले महाकालीको धार फर्काउने गरेर पुनः संरचना बनाउन थालेपछि नेपाली नागरिक विरोधमा उत्रिएका थिए ।
दार्चुला प्रशासनले भारतको माग बमोजिम बंगाबगर क्षेत्रको ढुंगामाटो हटाउने तयारी थालेको भन्दै स्थानीय आक्रोशित भएका छन् । पूर्वसर्त बमोजिम छाङरु स्कुल क्षेत्रदेखि पुलघाटसम्मको क्षेत्रमा भारतीय पक्षले नदीमा थुपारिराखेको ढुंगामाटो पूर्ण रुपमा हटाउनु पर्ने स्थानीयको माग छ । त्यो नहुँदासम्म छाङरु स्कुल क्षेत्रदेखि माथि दशरथनगरसम्म नेपालतर्फको ढुंगामाटो हटाउने कार्य गर्न नदिने स्थानीयको भनाइ रहेको छ । यस्तै, छाङरु स्कुलदेखि पुलघाटसम्मको नेपालतर्फको तटबन्ध कमजोर रहेको भन्दै सो तटबन्ध मर्मत सम्भारको माग स्थानीयले अघि सारेका छन् ।
यसअघि १८ मंसिरमा भारतीय पक्षले महाकाली नदी नेपालतिर धकेल्ने गरी एकलौटी रुपमा तटबन्ध निर्माण गरेपछि विरोधमा उत्रिएका नेपालीमाथि भारततर्फबाट ढुंगामुढा भयो । त्यसपछि नेपाली नागरिकले पनि प्रतिकार गरे। भारतीय पक्षबाट भएको ढुंगामुढामा नेपालतिर ४ जना घाइते भएका थिए । त्यसको विरोधमा महाकालीमाथिको नेपाल–भारत जोड्ने पुल नेपाली नागरिकले बन्द गराएका थिए । अर्को दिन भारतीय पक्षले पनि पुल २ घण्टा बन्द गरायो। त्यति मात्रै होइन, सो घटनापछि भारत प्रवेश गर्ने नेपालीमाथि भारतले चेकजाँचमा कडाई समेत गरेको थियो ।
दार्चुला सीमामा भारतीय पक्षबाट भइरहेको ज्यादतीको सर्वत्र विरोधपछि सरकारले भारतलाई कूटनीतिक नोट पनि पठाएको थियो । त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनले छलफल गरेर सीमामा भइरहेको तनाव हटाउने सहमति गरेका थिए । महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित तटबन्ध निर्माणको क्रममा बाँधिएको बाँध हटाएर महाकाली नदीलाई बिचबाट बगाउन भारत सहमत भएको थियो । तर उक्त संरचना भारतले अझै नहटाएको बरु फेरि तटबन्ध निर्माणको कार्यलाई जारी राखेको स्थानीयले बताएका छन् ।
Comments are closed.