महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । बजारका गल्लीहरुमा अहिले सडकहरुलाई कालोपत्रे गरिने कार्य धमाधम भईरहँदा सडकका बिचमा रहेका बिजुलीका पोलहरुलाई नहटाई कालोपत्रे भईरहेको प्रति स्थानियहरुले चासो दिएका छन् ।
भीमदत्त नगरपालिका ४ का व्यापारी पदम जोशीले अहिले विकास भर्यरहेको प्रती खुशी भएको बताए । तर सडकका बिचमा बिधुतका पोल नहटाएर नै सडकमा कालोपत्रे गरिनुले हास्यास्पद कार्य भएको बताए । महेन्द्रनगर बजारको ५ नम्वर गल्ली तथा अन्य गल्लीमा रहेका पोलहरुलाई नहटाएर नै अहिले सडक कालोपत्रे गरिएपछि सामाजिक संजाल तथा बिभिन्न क्षेत्रमा आलोचना भईरहेको छ । विकासको कार्य भएको प्रती सम्मान तथा साथ दिन तयार रहेको भएपनि यो पालेहरु बिच सडकमा राखेर कालोपत्रे गरिनु अलि राम्रो नभएको अर्का स्थानिय बिष्णु प्रशाद पनेरुले बताए । कुनैपनि विकास निर्माणका कार्यहरु दिगो बलियो, भरपर्दाे निर्काण गरिनु पर्ने भएपनि यसरी सडकका बिचमा पोल राखेर कालोपत्रे गरिनु राम्रो नभएको उनले बताए ।
भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरीसिंह धामीले निर्माण कम्पनीले पछि ति सबै पोलहरु हटाएर फेरी ति खाडल भएका ठाँउमा कालोपत्रे गर्ने बताए । अहिले योजनालाई सक्नुपर्ने भएकाले सडकमा कालोपत्रे गरिएको भएपनि पछि यी सबै पोलहरु हटाएर निर्माण कम्पनी ले फेरी काम गर्ने योजना रहेको उनले बताए । महेन्द्रनगर र आसपास क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नतिको काम भई रहेको छ ।
सडकलाई १५÷१६ मिटर चौडाइमा विस्तार गरिँदैछ, महेन्द्रनगरदेखि एयरपोर्ट रोड, महेन्द्रनगर बजार क्षेत्रलगायत सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ । क्षेत्रिय शहरी विकास आयोजनाको कार्यक्रम रहेको यो योजनामा एडि बी को कञ्चनपुरमा पौने ३ अरब रकममा काम भईरहेको र अहिले पहिलो चरणमा १ अरब रकममा कार्य भईरहेको नगरपालिकाले जनाएको छ । आयोजनाको कार्य सन २०१८ बाट शूरु भएको थियो र २०२२ मा सम्पन्न गरिनु पर्ने भएपनि समयमा सम्पन्न नभएपछि गत असारमा १ वर्ष म्याद थप गरिएको छ ।