महेन्द्रनगर । भारतको लखनउमा भएको बस दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर र टीकापुरका थप दुई जनाको मृत्यु भएको हो । बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा घाइते कञ्चनपुरको कृष्णपुरका अन्दाजी ३५ वर्षीय दिपक सुनार र टीकापुरका अन्दाजी ३५ वर्षीय हरि साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्यु भएका पाँचै जना नेपालीको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो दुर्घटनामा पाँच नेपाली र र एक बसचालक भारतीय नागरिक गरी ६ जनाको मृत्यु भएको छ ।
सोमबार मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउँद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी कार्यालय कैलालीले बताएको छ । सो दुर्घटनामा परेर घाईते भएका टीकापुर नगरपालिका–१ का ३५ वर्षका हरि साउँदको अवस्था गम्भिर थियो तर उपचारका क्रममा मृत्यु भएको प्रशासनले जनाएको छ ।
अन्य पाँच जनाको अवस्था सामान्य रहेको बताइएको छ । भारतको गुजरातबाट आइतबार नेपालको टीकापुरतर्फ आईरहेको आरजे २७ पिए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो । सो बससँग मिनी ट्रक ठोक्किएको प्रहरीले जानकारी दिएको छ । बसमा ६६ जना यात्रु सवार थिए । भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन् ।