स्वास्थ्य स्वयमसेविकाहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा स्वास्थ्य स्वयमसेविकाहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम नजिकिदै गर्दा सोहि कार्यक्रमलाई लक्षित गर्दै वेदकोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुडा स्वास्थ्य चौकीमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

४१ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई दुई चरणमा अभिमुखीकरण गराइएको हो । सो अभिमुखीकरण कार्यक्रममा सुडा स्वास्थ्य चौकीका अहेब नरेन्द्रराज पन्तले सहजीकरण गर्नु भएको थियो ।

लिम्फाटिक फाइलेरिया भनेर चिनिने हात्तीपाइले रोग सरुवा रोग हो । मसिनो धागो आकारको एक प्रकारको जुकाबाट यो रोग लाग्छ ।

क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने उच्चेरेरिया बाँन्क्रोफ्टी परजीवीको संक्रमणबाटै हुने गरेको पाइएको छ ।

विशेषगरी, मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरु देखिने गर्दछ । यो रोग एक पटक देखिइसकेपछि फेरी निको पार्न सकिदैन ।

हात्तीपाइले रोग बाहिर नदेखिँदै वर्षमा एक पटकको दरले छ वर्षसम्म आम औषधी सेवन गरेको खण्डमा यो रोग सर्ने प्रक्रियालाई पूर्णतया रोक्न सकिन्छ ।

 रोगीहरुलाई अंगभंग हुनबाट जोगाउन सकिन्छ । हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामै यसलाई निको पार्न यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.