माओवादीका भण्डारी तेस्रो पटकको निर्वाचनमा सुदूरपश्चिमको सभामुखमा निर्वाचित

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ । उनले २९ मत पाएका हुन् ।

५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन् । काँग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन् । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।

३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी थिइन् । सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् । नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहणसँगै उनले पदभार ग्रहण गरेका हुन् । प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन् ।

सम्बन्धित

Comments are closed.