कैलालीको मनेहरा शिबिरका ५० बालबालिकालाई न्यानो कपडा वितरण

महेन्द्रनगर । कैलालीको धनगढीस्थित मनेहरा शिबिरमा बसोबास गर्दै आएका ५० बालबालिकालाई शनिबार जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ ।
धनगढी उप–महानगरपालिका–७ मनेहराको खोला किनार र बनक्षेत्रमा सुकुम्बासीको रुपमा बसोवास गर्दै आएका ५० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
लामो समयदेखीको सितलहरका कारण चिसो बढेसँगै आर्थिक रुपमा विपन्न, असहाय, थारु तथा दलित परिवारका बालबालिकालाई समता मिडिया सेन्टरको सहयोगमा प्रति बालबालिकालाई एक थान न्यानो कपडा वितरण गरिएको हो ।
वडा अध्यक्ष मोती रानाले सुकुम्बासी परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । न्यानो कपडा वितरण गर्दै उनले सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिए ।
समता मिडिया सेन्टरले संचालन गरेको जेष्ठ नागरिक तथा बालबालिका बचाउ अभियान अन्तर्गत ७ नं.वडा कार्यालय र डिग्निटी फाउण्डेसन नेपालसंग समन्वय गरी मनेहरा सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरेको हो। वडा अध्यक्ष मोती रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधीहरुले चिसोको बेलामा न्यानो कपडा सहयोग गरेकोमा खुसी व्यक्त गरे ।
ज्याला मजदुरी गरेर जीवनगुजारा चलाउँदै आएका विपन्नहरुका बालबालिका र शारीरिक अपांगता भएका बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले बताए ।
७ नं.वडाका अध्यक्षसहित सबै जनप्रतिनिधी र डिग्निटी फाउण्डेसन नेपालकी अध्यक्ष रुक्मणी परियारको रोहबरमा २० हजार दुई सय ५५ रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो । सेन्टरले कैलाली जिल्ला मात्रै नभएर सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा पनि हरेक बर्ष विपन्न, दलित तथा अशक्त व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।
सेन्टरले न्यानो कपडा बैंक मार्फत प्रत्येक व्यक्तिबाट एक सय रुपैयाँ सहयोग अभियान संचालन गरिएको थियो । संस्थाको एनएमबि बैंक खाता 0150143889800012 र इसेवा आइडी 9858431239 मार्फत प्रत्येक व्यक्तिले स्वदेश तथा विदेशबाट एक सय रुपैयाँ देखी १० हजार रुपैयाँसम्म जम्मा गरेका छन् । न्यानो कपडा बैंकमा २४ हजार ५ सय जम्मा भएको सेन्टरका कार्यकारी अध्यक्ष परियारले बताए । केही दिनमै मनेहरा शिबिरका ५० जेष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिने समेत परियारले बताए ।

सम्बन्धित

Comments are closed.