कञ्चनपुरमा सवारी दुर्घटना बढ्यो, २ महिनामा १६ दुर्घटना, ९ जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढदै जान थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो समय कञ्चनपुरमा सवारीसाधन दुर्घटनाको दर भयावह देखिएको छ । सवारीसाधन दुर्घटनामा परी हरेक महिना ५ देखी ८ जनाले अकालमै ज्यान गुमाउँदै आएका छन् । पौष महिनामा ८ वटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो, भने यो माघ महिनाको शुक्रवारसम्म ८ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक उमेश चन्दले जानकारी दिएका छन् ।

शुक्रवार बेलौरी नगरपालिकामा मोटरसाइकल दुर्घटना हँुदा वडा नं ५ को कार्यालय नजिक सु.प.प्र ०१ ०१० प ८२४७ नंबरको मोटरसाइकल दुर्घटना भयो । उक्त मोटरसाईकलमा सवार २ जना मध्ये एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका ६ का २३ वर्षको अमर चौधरी चालकको मृत्यु भएको छ । भने मोटरसाइकलमा सवार ३० बर्षका करन चौधरी घाइते भएका छन् । यस्तै माघ १८ गते पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भयो । माघ १६ गते पनि बेदकोट नगरपालिका १० दैजीका २७ वर्षीय सुकराम रानालाई टयाक्टरले ठक्कर दिँदा उनको मृत्यु भयो ।

यस्तै, माघ १४ गते, अटो दुर्घटना हुँदा पुनर्वास नगरपालिका–५ सिमरीमा २८ वर्षीय सरोज रिमालको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाभित्र सडक दुर्घटना बढ्दै गएको बताएको छ । पछिल्लो दुई वर्षको अवधिमा मात्र जिल्लामा एक सय ९० सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको हो । अहिले सबैभन्दा बढी मोटरसाइकलहरु बढी दुर्घटनामा पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख चन्दले बताएका छन् ।

उनका अनुसार पछिल्लो समय सवारीसाधनको अत्यधिक चाप र सडक साँघुरो भएका कारण दुर्घटना बढी हुने गरेका छन् । अत्यधिक तिव्रगतीमा सवारी हाक्ने, मापसे गरेर सवारी चलाउने, सडकको दुरावस्था, र छाडा चौपायासँग ठोक्किएर सडक दुर्घटना बढेको पाईएको उनले बताए । उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनका चालकलाई प्रशिक्षण दिएर सचेत गराउने कार्यक्रम गर्दै आएको बताए । अहिले ठाँउठाँउमा ट्राफिक चेकिङ पनि बढाएको र दुर्घटनालाई न्युनिकरण गर्ने कार्य पनि गरिरहेको उनले बताए ।

आर्थिक वर्ष २०७७÷७८ मा ९३ र आव २०७८÷७९ मा ९७ सडक दुर्घटना भएका थिए । चालू आव २०७९÷८० को अहिलेसम्म ३३ दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आर्थिक २०७७÷७८ मा ३५ र २०७८÷७९ मा ३३ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा जिल्लाभरि १०० भन्दा बढी सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी ३१ जनाको मृत्यु भयो भने ६१ जना गम्भीर घाइते भएका थिए । यसैगरी ६४ जना सामान्य घाइते भएका छन् ।

सम्बन्धित

Comments are closed.