महेन्द्रनगर । कैलाली जिल्ला अदालतको फैसलाअनुसार जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत दिपायलले कारण देखाउ आदेश जारी गरेको छ । चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालत दिपायलमा आजको बहस सोमवार सकिएको छ ।
न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेस दिएको छ । आईतबार उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश दर्ता भएको रिटमा अरुण चौधरीको विषयमा थप बहस २९ गते बताइएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेस जारी भएको छ ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान गरेको भन्दै चौधरीलाई प्रहरीले १९ गते पक्राउ गरेको हो । चौधरी पक्षमा कानुन व्यवसायीहरूले सुनुवाइको मौका समेत नदिए अन्याय पूर्ण फैसला भएको भन्दै उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो । सार्वजनिक सम्पत्ति (ट्र्याक्टर) मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका चौधरीलाई प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो ।
बिहीबार पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतले शुक्रबार चेल चलान गरेको थियो । आफूलाई दोषी ठहर गर्ने फैसला बदर हुनुपर्ने र आफूलाई रिहा गरिनुपर्ने मागदाबीसहित चौधरी पक्षले उच्च अदालत दिपायलयमा पुनरावलोकन निवेदन दिएको थियो । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए ।
उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो । स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसूरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ। उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो । उनीहरूले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए ।