महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधवार आफुले विश्वासको मत पाउनेमा ढुक्क रहेको भनेर प्रतिक्रिया दिई रहँदा मंगलवार नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेपछि रावल संकटमा परेका छन् । मंगलवार डिल्लीबजार कारागारमा बसेको बैठकले यस्तो निर्णय गरेको नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिएकी छिन् ।
आफनो माग हरु सम्बोधन नहुने देखिएको कारणले आफुहरुले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरिउको उनले बताईन् । उन्मुक्तिका नेता रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबीच विहानदेखि भएको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने बताएका बेला नागरिक उन्मुक्तिले मत नदिने निर्णय गरेको हो । नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावल संकटमा परेका छन् । उनले विश्वासको मत नपाए नेपाली काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । पार्टीका संरक्षक रेशम चौधरीसहितका राजबन्दीको रिहाको प्रक्रियासमेत सुरु नभएको भन्दै नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको हो । सुदूरपश्चिममा एमालेका १०, माओवादीका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा रावल मुख्यमन्त्रीमा गत पुस २७ गते नियुक्त भएका थिए ।
काँग्रेसमा १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु प्रदेश सरकारको बिपक्षमा छन् । नागरिक उन्मुक्तिको यो निर्णयसंगै सुदूर पश्चिम सरकार पूर्णता नपाउदै ढल्ने निश्चित भएको छ । प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिको साथ नपाए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन ।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिई सक्नु पर्ने संबैधानिक प्राबधान छ । २७ गते रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दैछ । अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएर सरकार विस्तार गरिसके पनि मुख्यमन्त्री रावलले भने विश्वासको मत नपाउदा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन ।
Comments are closed.