महेन्द्रनगर । कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल दलित विधार्थी छात्रावास अलपत्र परेको छ । उक्त छात्रावासको भवन निर्माणको लागी आवश्यक पर्ने बजेट नहुँदा छात्रावासको भवन अलपत्र परेको हो । कञ्चनपुर पछिल्लो समयमा शैक्षिक क्षेत्रको रुपमा विकसित भईरहँदा सुदूरपश्चिमका बिभिन्न जिल्ला तथा देशैभरबाट शिक्षा लिन यो जिल्लामा आउने गरेको पाईएको छ ।
सुदूरपश्चिम विश्व विधालय, तथा अन्य प्राविधिक विषयमा अध्ययन गर्न आउने दलित विधार्थीहरुलाई बस्नका लागी कोठा नपाएर हैरानी खेप्नु पर्ने समस्या बढदै गएको छ । जिल्लामा रहेको एकमात्रै छत्रावास निर्माण नभएपछि अन्य पहाडी जिल्ला तथा पूर्वबाट पनि अध्ययनको लागि आउने दलित विधार्थीहरुलाई बस्नका लागी कोठा नपाईए पछि यो छात्रावास निर्माणको पहल गरिएको थियो ।
बैतडीको पुर्चौडी नगरपालिकाका रवी तिरुवाले आफु अध्ययन गर्न भाईसहित कञ्चनपुरमा आएको तर, यता जातको कारणले कोठा नपाँउदा समस्या भएको बताए । ‘पढाई सुदूरपश्चिम विश्व विधालयमा छ बस्नु पर्ने १० किलोमिटर टाढा हुन्छ दलितहरुको घर बाहेक अन्य जातले कोठा भाडा मा दिँदैनन समस्या छ’ उनले भने, ‘कलेज नजिक घर भाडामा पाईदैनन कोठा पाए पनि दलित हो भनेर थाहा पायो भने कसैले पनि कोठा दिन मान्दैनन त्यही भएर कलेज भन्दा टाढा बस्नुपर्ने बाध्यता रहेको छ’ ।
हामी जस्तो बिधार्थीहरुलाई यदी छात्रावासको व्यवस्था भएको भए अहिले यस्तो समस्या नहुने उनले बताए । मानसिक तनावमा आफनो अध्ययनलाई अगाढी बढाउन बाहेक अर्काे विकल्प नरहेको उनले दुखेसो पोखे । २०७० सालमा छात्रावासको निर्माणको थालनी गरिएको भएपनि रकमको अभावले निर्माण हुन नसकेको सुदूरपश्चिमाञ्चल दलित विधार्थी छात्रावासका अध्यक्ष हरीहर परियारको भनाई रहेको छ । बिभिन्न चरणमा आएको बजेटले यो भवन निर्माण गर्न पनि नपुगेको र अहिले पनि जिल्लामा रहेका केही पालिकाले बजेट दिने आश्वासन दिएको उनले बताए । शुरुमा २ करोड १० लाखमा तिन तले सुविधा सम्पन्न भवन बनाउने योजना रहे पनि बजेटको अभावले गर्दा उक्त भवन निर्माण हुन नसकेको उनले बताए ।
तत्कालिन नगर विकास समितिले १ कट्टा जमिन उपभोग गर्न दिएको थियो अहिले त्यही जमनिमा घेरबार तथा भवन निर्माण गर्ने भनेर योजना बनाएको हो उनले भने, अहलिे पनि बिभिन्न सांसद, पालिकामा समन्वय गरेर यो भवनलाई पूर्णता दिने प्रयास गरिरहेका छौ । सुदूरपश्चिम तथा अन्य जिल्ला दलित विधार्थीहरुले सम्मानका साथमा छात्रावासमा बस्न पाउन भन्ने उदेश्य रहेको भएपनि यो सपना अधुरै रहेको उनले बताए ।
Comments are closed.