महेन्द्रनगर । उधोग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले कञ्चनपुरलाई औधोगिक हबको रुपमा विकास गर्ने बताएका छन् । साथै कञ्चनपुरलाई औधोगिक हब बनायो भने सुदूरपश्चिमका युवाहरुले कामका लागि बाहिर जानु नपर्ने वातावरणको सिर्जना गरिने उल्लेख गरे, दैजी छेला औधोगिक क्षेत्रको शुक्रवार अवलोकन तथा अनुगमन गर्ने क्रममा उनले सुदूरपश्चिममा रहेका बिभिन्न गौरबका योजनाहरु, सरकारले घोषणा गरेका योजनाहरुलाई फास्ट ट्रयाक दु्रतगती मार्फत यथासिघ्र संचालन गर्न पहल र कार्य सम्पादन गर्ने उदेश्य अनुरुप कामको थालनी गरिने बताए ।
दैजी छेला औधोगिक क्षेत्रको फाल्गुण ८ गते कार्यालयको स्थापना गरिने र उक्त कार्यालयले अबको कार्ये हेर्ने उनले बताए । उनले दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण पनि अन्तिम चरणमा पुगेको बताए । सुक्खा बन्दरगाहदेखि भारतको औद्योगिक सहर ८५ किलोमिटरको दूरीमा रहेको र व्यापार पारवहनका हिसाबले यो सुक्खा बन्दरगाह महत्वपूर्ण रहने उनले बताए । गत सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुक्खा बन्दरगाहको निरीक्षण गरेका थिए ।
दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास भएको दुई वर्ष पुग्दासमेत भौतिक पूर्वाधार निमार्ण हुन सकेको छैन् । अहिले डिभिजन वन कार्यालय कञ्चनपुरले औद्योगिक क्षेत्रमा रुख छपानको काम गरिरहेको छ । औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ । उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजार व्यक्तिले रोजगारी पाउनेछन् ।
एक सय औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएको छ ।यो औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएर उद्योग सञ्चालनमा आए सुदूरपश्चिमकै आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ ।