नागरिक उन्मुक्तिका सांसद चौधरी भोली रिहा हुँदै

महेन्द्रनगर । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सम्पूर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन् । आइतबार अर्थात् ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सुचीमा सांसद अरुण चौधरीलाई समेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाहा गरेको हो ।

सजाय मिनाहा भएसँगै उनी रिहा हुने भएका छन् । राष्ट्रपति कार्यालयले शुक्रवार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ । सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाहा भएका हुन् । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो । फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी ल्याइएको थियो ।

 

सम्बन्धित

Comments are closed.