वित्तीय संस्थाको चर्काे ब्याजदर विरुद्ध कञ्चनपुरको वाणिज्य संघ

महेन्द्रनगर । बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध कञ्चनपुरसहित सुदूरपश्चिमका व्यवसायी झन आक्रामक बन्दै गएका छन् । आईतवार कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका नै निर्माण गरेर चरणबद्ध रुपमा विरोध गर्ने निर्णय गरिएको जनाएको छ । शनिवार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका नै निर्माण गरेर चरणबद्ध रुपमा विरोध गर्ने निर्णय गरिएको थियो ।

त्यही चरणबद्ध रुपमा विरोध गर्ने निर्णय अनुरुप आईतवार कञ्चनपुरमा पनि पत्रकार सम्मेलनमार्फत आगामी चरणबद्ध रुपमा विरोध गर्ने कार्यतालिका सार्वजनिक गरिएको कञ्चनपुर उधोग बाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीले बताए । कोभिड १९ पश्चात धराशायी भएका उधोग व्यवसाय यातायात संचालनमा क्रमिक रुपमा सुधार भई उधोग व्यवसाय निर्वाध रुपमा हुने विश्वास निजी क्षेत्र लिएको अवस्थामा विगत ७ महिनादेखी अनाहकमा लगानी योग्य पूँजीको अभाव र तरलताको समस्याका नाममा बैँकहरुले सम्झौता विपरित ऋणको व्याज दरमा अप्रत्यासित रुपमा वृद्धि गरेपछि आफुहरु लगायत अन्य व्यवसायीहरु मारमा परेको उनले बताए ।

प्रदेशमा रहेका कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघले बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सुदूरपश्चिमका नौवटै जिल्लाबाट बैंक ब्याजदर विरुद्धका कार्यक्रम अघि बढाउन आगामी संघर्षका कार्यक्रम तय गरिएको छ । धनगढीमा भएको छलफलपछि उद्योगी व्यवसायीले यही १४ गते प्रचारप्रसार, सुचना प्रकाशन तथा पत्रकार सम्मेलन गर्ने, १५ गते हरेक दिन विहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोण सभा गर्ने निर्णय गरिएको छ ।

उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णय समेत गरेका छन् । त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने निर्णय समेत भएको छ । साथै फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत निजी क्षेत्रले चेतावनी दिएको छ ।

सम्बन्धित

Comments are closed.