डडेल्धुराको शिवशिखर सहकारीेले बचत फिर्ता गर्ने

महेन्द्रनगर । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डडेल्धुरा शाखाले आगामी चैत १ गतेदेखि सहकारीलाई नियमित रूपमा संचालन गर्ने भएको छ।बचत रकम फिर्ता गर्न नसकेपछि पछिल्लो समय विवादमा आएको शिवशिखर सहकारीले बचतकर्ताको बचत फिर्ता गर्ने भएको हो ।

सोमबार बिहान आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सहकारीले ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको र सहकारीलाई नियमित रूपमा संचालनमा ल्याउने जानकारी गराएका हो । सहकारीमा बचत गरेका बचतकर्ताहरुको बचतलाई सुरक्षित गर्न तथा बचत फिर्ताको लागि आइतबार अमरगढी नगरपालिका–५ का वडाध्यक्ष टंकबहादुर क्षेत्रीको रोहवरमा दुईपक्षीय वार्ता गरी ९ बुँदे सहमतिपत्रमा दुईपक्षीय हस्ताक्षर गरिएको थियो ।

आफूले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरू शिवशिखर सहकारी लिमिटेड डडेल्धुराको तुफानडाँडास्थित कार्यालयमा घेराउ गर्न थालेपछि पछिल्लो केही दिनयता सहकारीको कार्यालयसमेत बन्द छ । चैत १ गतेदेखि २०८० असारसम्म मासिक ४ करोडका दरले नियमित बचत तथा समय अवधि पुगेको मुद्दती बचत वाफतको रकम क्रमिकरूपमा भुक्तानी गर्ने सहमति भएको छ ।

सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक तथा वार्ताका लागि सहकारीका प्रतिनिधि भोजराज पौडेलले बचतकर्ताहरूको बचत फिर्ता गर्नको लागि सहकारीले वैकल्पिक व्यवस्था गरिरहेकोले बचतकर्ताहरूलाई ढुक्क हुन आग्रह गरे ।

सम्बन्धित

Comments are closed.