महेन्द्रनगर । कञ्चनपुरमा २ दिनमा १ सय ४५ वटा सवारीसाधनहरुलाई कारवाही गरिएको छ । होलीको मुख्य २ दिन फागुन २२ र २३ गते जिल्लाका बिभिन्न ठाँउहरुमा जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले गरेको चेकजाँचमा उक्त सवारीसाधनहरुलाई कारवाही गरिएको हो ।
साथै उक्त चेकजाँचबाट ९१ हजार रुपैँया राजश्व पनि संकलन भएको छ । विषेश गरेर होलीलाई लक्षित गरी बढी मापसे गर्ने, क्षमता भन्दा बढी यात्रु हालेर सवारी साधन हाँक्ने, ट्राफिक नियमको उल्लंघन गर्ने सवाी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक उमेश चन्दले जानकारी दिएका छन् । होलीको बेलामा मापसे गरेर सवारी साधन चलाउने जस्ले गर्दा दुर्घटना बढी हुने र अरु सवारी चालकलाई पनि जोखिम बढने भएपछि सबै भन्दा बढी मोटरसाईकलहरुलाई कारवाही गरिएको उनले बताए ।
‘१ सय भन्दा बढी मोटरसाईकलहरुलाई कारवाही गरिएको छ’ उनले भने, ‘मापसे गर्ने, हेलिमेटको प्रयोग नगर्ने, मोटरसाईकलमा ३ जना हालेर चलाउने बढी कारवाहीमा परेका छन्’ । २७ जनाले मापसे गरेर सवारी साधन चलाएको आरोपमा कारवाही गरिएको छ भने, २० वटा मोटरसाईकललाई दिनभरी होल्डमा राखिएको थियो ।
ति मोटरसाईकलहरुले तिव्रगतीमा सवारी साधन हाँकेको, मापसे गरे सवारी साधन चलाएको हुँनाले तिनिहरुले अन्य सवारी साधनलाई पनि दुर्घटनाको जोखिम बढाउने भएकाले ति मोटरसाईकलहरुलाई दिनभरी होल्डमा राखेर बेलुकी सवारी धनीलाई बुझाईएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक चन्दले बताए ।
ट्राफिक कार्यालयले माईकिङबाट सचेतीकरणको जनचेतना मुलक सुचनाहरु बजाई रहेको थियो । उक्त माईकिङको पनि राम्रो प्रतिक्रिया आएको उनले बताए ।