महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले फरक तवरले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा कायम गरिएको कार्यक्रममा पालिकाले समुदायको विकास तथा सकारात्मक रुपान्तरणमा बिशेष भुमिका खेल्ने महिलाहरुलाई सम्मान गरेको हो ।
शिक्षा, स्वास्थ्य, सामाजिक, राजनैतिक, अपाङगता, कृषि, महिला भलमन्सा, खेलाडी, पत्रकार, उद्यमशिल, न्याय, सुरक्षा लगायतको क्षेत्रमा अहम भुमिका खेल्ने महिलाहरुलाई दोसल्ला ओढाई तथा प्रमाणपत्र प्रदान गरेर महिलाहरुलाई सम्मान गरेको छ । अहिले देशैभरमा यो दिनलाई हर्षाेल्लासको साथमा मनाई रहँदा हाम्रै समाजमा पनि आफनो समुदायलाई अगाढी बढाउन, विकास गर्न , लैङिगक अवस्थाको उत्थान गर्न समुदायलाई सकारात्मक तवरले रुपान्तरण गर्नमा अहम भुमिका खेल्ने महिलाहरुलाई पनि सम्मान गर्नुपर्ने हुन्छ, त्यही भएर यो अवसरमा पालिका भित्र रहेका बिभिन्न क्षेत्रमा अब्बल रही समुदाय तथा राज्यमा बिशेष भुमिका निर्वाह गर्ने महिलालाई सम्मान गरिएको कार्यक्रमका सभाध्यक्ष नगरपालिका उपप्रमुख तुलशी जोशीले बताईन् ।
पहिलेका दिनमा हामी दिदीबहिनीहरुको परि मर्का दुखको गाथा मात्रै भन्ने महशुस गर्ने गर्दथ्यौ तर यो पाली हाम्रा दिदिबिहिनीहरुले समुदायमा गरेका बिभिन्न सकारात्मक कार्य, अरुलाई पनि उत्प्रेरणा दिने कार्य गर्ने महिला हरुलाई पनि सम्मान गरौ, त्यसबाट अरुले पनि केही पाठ सिकुन भनेर नै यो सम्मान कार्यक्रम गरिएको उनले बताईन् । अहिले पनि महिलाहरुलाई बिभिन्न बाहनामा दुव्र्यव्यहार गर्ने राज्यसत्तामा पहुँच नगराउने परिपाटी परिवारबाट पनि सुरुवात भएको हुँदा परिवारबाट महिलाहरुलाई पूर्ण सहयोग भयो भने मात्रै उनिहरु स्वतन्त्र भएर अगाढी बढने आफनो हक अधिकारको लागि लडन सक्षम हुने पालिका उपप्रमुख जोशीले बताईन् ।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख भोजराज बोहराले अहिले पनि परिवारबाट पनि विभेदको सुरुवात हुने गरेको बताए । अहिले पनि छोरालाई बोर्डिङमा पढाउने छोरीलाई सरकारी बिद्यालयमा पढाउने परम्परा कायमै रहेको छ । साथै छोरालाई दुध खुवाउने, छोरीलाई मही मात्रै खुवाउने कुरुती परम्परा रहेको बताए । ‘समाजमा अहिले पनि बिभिन्न कुरुती रहेको अवस्थामा हाम्रा धार्मिक परम्परामा पनि रहेको छ’ उनले भने, ‘छोराले मात्रै क्रिया गर्ने छोरील नगर्ने अर्थात पार लगाउन छोरा मात्रै चाहिन्छ भन्ने अवधारणाले पनि विभेद रहेको गरेको छ’ ।साथै उक्त कार्यक्रममा बिभिन्न समुदायले आफनो परम्परा रहनसहन झल्किने किसिमका झाँकीहरुको पनि प्रस्तुती दिएका थिए । उक्त झाँकी प्रस्तुती दिने समुहलाई पनि दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन्।त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित ग¥यो । त्यसपछि सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो ।
Comments are closed.