महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका १० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु प्रकरणको घटनाको अनुसन्धानका प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । यसअघि १२ जनालाई पक्राउ गरिएकोमा थप ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
थप पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय गणेश सिंह कार्की, ४७ वर्षीय कमलसिंह कार्की, दशरथचन्द नगरपालिका ६ का ३३ वर्षीय टेकराम तिरुवा र दार्चुला मार्मा गाउँपालिका–४ का ३९ वर्षीय मोहनसिंह महता रहेका छन् । गत फागुन १३ गते बनभोज मनाउन दोगडाकेदार गाउँपालिका ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन सोही राति नदीमा मृत अवस्थामा फेला परेका थिए । त्यसको केहि दिनमै शव भेट्टिएको स्थाननजिकै बिस्फोटक पदार्थ समेत फेला परेको थियो । बिस्फोटक पदार्थसँग संलग्न रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि बिस्फोटक पदार्थ कसूर सम्बन्धी मुद्दा दर्ता भएको र म्याद थप भएर अनुसन्धान भइरहेको प्रवक्ता जोशीको भनाई छ । यसअघि प्रहरीले बुडालसँगै बनभोज गएका १२ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ ।
जीवनसंगै बनभोज गएका नारायणसिंह ऐरी,गजेन्द्रसिंह रावल, पुस्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नविनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि ज्यान सम्बन्धि कसुर र विष्फोटक पदार्थ सम्बन्धीको जाहेरी दर्ता भएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.