दार्चुलामा बर्डफ्लु नियन्त्रणकालागि निगरानी

महेन्द्रनगर । दार्चुलामा बर्डफ्लु नियन्त्रणकालागि भारतसित सीमा जोडिएका नाकामा निगरानी बढाउन थालिएको छ । भारतसित जिल्लाका दर्जन नाकाबाट बर्डफ्लु भित्रिने सम्भावना रहेकाले निगरानी बढाउन लागिएको जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले जनाएको छ ।

जिल्लामा बर्डफ्लु नियन्त्रणका लागी सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसको नियन्त्रणका लागि खुला सीमानाकामा निगरानी बढाउने निर्णय गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रामबहादुर खड्काले बताए । उनले भारतसँग जोडिएका १० वटा नाका र केही ठाउँमा तुइन तथा ट्युबको प्रयोग मार्फत आवतजावत भैरहेको बताए ।

जसका कारण बर्डफ्लु भित्रिने सम्भावना रहेको उनले भने । भारतबाट पन्छीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी अवैध रूपमा कुखुरा, चल्ला र अन्डा भित्रिने गरेको उनको भनाई छ । सरकारले भारतीय सेतो अन्डा, मासुजन्य पदार्थ आयातमा पूर्ण रोक लगाएको भए पनि लुकिछिपी व्यापार हुने गरेको छ। अन्य रोगभन्दा बर्डफ्लुले मानवीय क्षति बढी गर्ने हुँदा सचेतना अपनाउनुपर्ने खड्काको भनाइ छ ।

बर्डफ्लु नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बर्डफ्लुको जोखिम भएकाले पन्छी तथा पन्छीजन्य पदार्थ ओसारप्रसार गर्ने सरोकारवाला निकायले उच्च सतर्कता अपनाउनुपर्ने बताए । उनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र सम्बद्ध निकायले सक्रियता बढाउनुपर्ने बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.