वेदकोटमा उपप्रमुखले छनौट गरेको जग्गामा लगिए सामुदायिक पशु

महेन्द्रनगर । वेदकोट नगरपालिकामा पुलमुनी रहेका सामुदायिक पशु चौपायहरुलाई बैतडा सारिएका छन् । नगर उपप्रमुख एवम सामुदायिक पशु व्यवस्थापन कार्यदल संयोजक तुलसी जोशीले गत कार्तिकमा लक्ष्मी पुजाको दिन भुमी पूजन गरिएको क्षेत्रमा अहिले उक्त सामुदायिक पशूलाई लगेर राखिएको हो ।

बैतडास्थित बालज्योति माध्यमिक विद्यालयमा रहेको १२ बिगाह जमिन मध्ये हालका लागी ५ बिगाहा जग्गामा बनाएको सामुदायिक पशु चौपाया व्यवस्थापन स्थलमा सबै गाई गोरु राखिएका हुन् । नगर उपप्रमुख जोशीको नेतृत्वमा निर्माण गरिएको कार्यदल समितीले उक्त क्षेत्रको छनौट गरेको थियो र अहिले सोही ठाँउ उपयुक्त छ भन्दै सबै सामुदायिक पशु चौपायलाई त्यँहा व्यवस्थापन गरिएको हो ।

उक्त क्षेत्र छनौट गर्दा स्थानिय बैजनाथ महिला बहुउद्येश्य सहकारी संस्थाले विगतदेखी नै जग्गा छनौट, चारो व्यवस्थापनमा अहम भुमिका निर्वाह गरेको र पछि आएर निर्माण समिती नयाँ बनेपछि उक्त समितीलाई नै सहकारीले सबै जिम्मा हस्तान्तरण गरेको थियो । गत मंसिरमा भौतिक भवन निर्माणमा केही समय ढिलाई भएपछि केही तत्वहरुले सबै पशु चौपायलाई लगेर नगरपालिका परिसर भित्र हुलेका थिए ।

त्यस लगत्तै पालिकाले सबै दलहरुको निर्णय अनुसार अस्थायी रुपमा पशू चौपायलाई पुल मुनी व्यवस्थापन गरेको थियो । वेदकोट नगरपालिकामा र भीमदत्त नगरपालिकामा जग्गाको अभावमा सामुदायिक पशु चौपायहरुको दिगो रुपमा व्यवस्थापन हुन नसकेको अवस्थामा वेदकोट नगरपालिकाले मात्रै सामुदायिक पशुचौपायहरुको व्यवस्थापन गर्नमा चुनौती रहेको औँलाएको छ ।

भीमदत्त नगरपालिकाले आफनो क्षेत्रका पशुलाई व्यवस्थापन नगर्दा सम्म वेदकोटमा पनि व्यवस्थापनमा चुनौती रहेको वडा नम्वर ७ का अध्यक्ष थानेस्वर प्रशाद भट्टले बताएका छन् । बैतडामा छाडा पशु चौपायाका लागि पाँच बिगाहा जग्गामा तारबार गरिएको छ । तारबारभित्र चौपायका लागि टहरा बनाउने कार्य थालिएको छ । टहराका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर संकलन गरी राखिएको छ ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले छाडा पशु चौपायको दिर्घकालिन व्यवस्थापनको लक्ष्य राखेर बैतडामा राखिएको बताए । उक्त पशु चौपाय राखिएको क्षेत्रमा उत्पादन मुखी बनाएर बायोग्यास व्यवस्थापन, प्राङगारीक मल बनाएर खेती किसानमा प्रयोग गरी उत्पादन बढाउने लक्ष्य रहेको उनले बताए । वेदकोट नगरपालिका ६ चुनेपानीमा रहेका १ सय ५० वटा पशुलाई पनि त्यही व्यवस्थापन गरिने पालिकाका प्रशासकिय अधिकृत पदमराज भट्टले बताएका छन् ।

पालिकाले पशु चौपायलाई खुल्ला छोडने किसानलाई कारवाही गरिने र पालिकाबाट पाईने सेवा सुविधाबाट बञ्चित गरिने जनाएको छ । व्यवस्थित रुपमा पशु चौपायलाई पालन गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने व्यवस्थाको निर्माण गरिने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.