महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ तल्लो गोवरिया की अन्जना नेपालीले शब्जीमण्डीबाट एक धार्नी आलु खरिद गरेर ल्याईन तर उक्त पोलिथिनमा रहेको आलुमा पुरा ५ किलो आलु नभएको उनले बताईन् । ‘बेलुकीको समय थियो मैले आलु किन्ने भनेर त्यँहा रहेका एकजना व्यापारीले धार्नीको सय भनेर बेचि रहेका थिए, मैले पनि किने तर मलाई शंका लाग्यो उक्त प्लाष्टिकमा हालेको आलु कम छ की भन्ने लाग्यो, मैले भने यो कम छ खोई तौल गरौ त भने, ति व्यापारीले तौल गर्न मानेन, मैले जोर जोरले बोल्न थाले अनि मात्रै तौल गर्न माने तर आधा किलो आलु नै कम थियो’ उनले भनीन, ‘त्यसपछी मैले ति व्यापारीलाई भने यसरी ठग्ने, कम तौलमा बढी पैसा लिने भनेर भने, उल्टै मलाई नै भो भो बढी नबोल्नु भनेर हप्काए’ ।
यस्तो ठगी गर्ने व्यापारीहरुलाई कारवाही हुनुपर्ने उनले बताए । आम उपभोक्ताहरुलाई ठगेर कम तौलमा बढी पैसा लिएर ठग्ने व्यापारी व्यावसायी सबैलाई स्थानिय सरकारले समय समयमा अनुगमन गरिनु पर्ने र कारवाही हुनुपर्ने उनले बताईन् । अहिले बजारमा रहेका कतिपय पसलहरुमा डिजिटल तराजु राखिएको भेटिन्छन ती डिजिटल तराजु र अन्य तराजुको तौल ठिक छ वा छैन भनेर अनुगमन पनि कम हुने गरेको पाईएको छ । बजारमा चाडपर्व लक्षित मात्रै अनुगमन हुने अरु समयमा बजार अनुगमन नहुने भएपछि व्यापारीहरुले कम तौल गर्ने र सामानको पैसा बढी लिने गर्ने वेदकोट नगरपालिका ३ दैजीका स्थानिय प्रकाश भट्टले बताए ।
‘सामान तौल गर्ने तराजु बिग्रीएर पनि चलाई रहेका हुन्छन् उसको तौल ठिक छ की छैन भनेर हामी उपभोक्ताले पनि हेर्दैनौ र सरकारले पनि हेरेको छैन्‘ । उनले भने, ’अहिले वडा सरकार छ पालिका छ तर पनि यो बजार अनुगमन कम भएर नै यस्तो कालोबजारी भएको हो’ । महेन्द्रनगरको प्रमुख बजार भीमदत्त नगरपालिका वडा नम्वर ४ मा रहेको छ । यहाँ फेन्सी पसल, तरकारी बजार, मासु पसल, खाद्यन्न पसल लगायत सबै पसल रहेका छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खडकाले यो विषय प्राविधिक सहितको टोलीले हेर्नुपर्ने भएकाले आफुले यो विषयको अनुगमन गर्न पहल थाल्ने बताए ।
कैलालीमा रहेको नापतौल विभाग, कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालय, र नगरपालिकाको सहभागितामा मात्रै संयुक्त अनुगमन गर्न मिल्ने कानुनी व्यवस्था रहेको अवस्थामा यो विषयमा आफुले यथासिघ्र अनुगमनको पहल गर्ने बताए । कानुनमा स्टाण्डर्ड नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाली वा घटी बढी बनाएमा वा बनाउन लगाएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुने उल्लेख छ ।
जाली वा घटी बढी नाप्ने वा तौलने यन्त्र जानीजानी सक्कली रुपमा व्यवहार गरेमा वा व्यवहार गर्ने उद्देश्यले राखेमा वा बिक्री गरे वा गराएमा पनि सोही कारबाही हुने जनाइएको छ ।
Comments are closed.