महेन्द्रनगर । बैतडीका २ जनाको छुट्टाछुट्टै दुर्घटनामा परी मृत्यु भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका–६ भूमीराज मुडेलीमा भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु भएको छ । स्थानिय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको हो ।
सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको स्थानीय विजय साउँदले बताएका छन् । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन् । यस्तै, ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।
कामको सिलसिलामा भारतमा रहेका बैतडीको डिलाशैनी गाउँपालिका – ६ गोकुलेश्वरका ३० बर्षका नरीराम ओडको ढुंगा लागेर भारतमा मृत्यु भएको हो । नारायण आश्रम रोड अन्तर्गत काकडपानी भन्ने स्थानमा सडक निर्माणमा संलग्न रहेका ओडको सडक माथिबाट खसेको ढुंगा लागेको भारतीय प्रहरीले जनाएको छ ।
सोमबार सडकमाथिबाट खसेको ढुंगा लागेर ओडको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।भारतको पिथौरागढ जिल्ला अन्तर्गत पर्ने सो सडक निर्माणको काममा ओडसमेत काम गर्दै आएका थिए ।